ग्रेट अरणीकोले अभिभावकलाई भन्योः छोराछोरीका अगाडी धेरै मोवाईलमा नझुम्नुस्

तुलसीपुर, २५ फागुन ।
प्रबिधिको युग छ । घर–घरमा वाईफाई र स्मार्ट मोवाईल छन् । कुनै समय टिभिमा झुम्मिने वालवालिकाहरु अहिले मोवाईलमा झुम्मिन थालेका छन् । यसले विद्यार्थीको मानसिक, शारिरीक तथा संवेगात्मक क्षमतामा ह्रास ल्याउने भन्दै अभिभावकहरु यसमा सचेत हुनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका अधिकृत मनबहादुर खड्काले बताए ।

“धेरै बच्चाहरु अहिले मोवाईलमा झुम्मिने गरेका छन्”,उनले भने “यसले बच्चामा नकारात्मक असर गरिरहेको हुन्छ, यसमा अभिभावक सचेत हुनुपर्छ ।” त्यस्तै बच्चाहरुका अगाडी आमावुवाले मोवाईल चलाउने गर्दा पनि बच्चाबच्चीहरुमा असर पर्ने भन्दै यसमा पनि अभिभावकहरु सचेत हुनुपर्ने उनको भनाई छ । अभिभावकहरु मोवाईलमा ब्यस्त हुँदा बच्चा–बच्चीहरुले समय नपाउँने भएकाले उनीहरुमा नकारात्मक असर पर्ने उनको भनाई छ ।

अध्ययन अनुसार बच्चाबच्चीलाई दैनिक कम्तिमा ८ पटक छुनुपर्छ । तर, अभिभावक आफ्नो काममा ब्यस्त हुँदा बच्चाबच्चीसंग नजिक नभएको पाईने अर्का प्रशिक्षक डीआर भण्डारीले बताए ।“बच्चाबच्चीलाई दैनिक ८ पटक छुनुपर्छ”,उनले भने “तर, हामीले त्यो समय बच्चाबच्चीलाई समय दिन सकेका छैनौं ।”

खानेकुरामा पनि त्यतिकै लापरवाही हुने गर्छ । जंगफुडले बच्चाको शारिरीक तथा मानसिक अबस्थामा निकै असर पु¥याउने गर्छ । बच्चालाई क्रुमुरे,चाउचाउ जस्ता कुराहरुलाई खुवाउन नहुँने समेत उनले बताए । अर्गानिक बस्तुलाई खाजाका रुपमा प्रयोग गर्नुपर्ने उनको भनाई छ ।


बच्चा बच्चीहरुसंग गर्ने ब्यहार पनि सरल हुनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका पूर्व स्रोत ब्यक्ती मुकुन्द रिजालले बताए । बालबालिकाहरुलाई उमेर अनुसार ब्यबहार गर्नुपर्ने उनको भनाई छ । उनले शिक्षा ब्यबहारिक र जीवन बदल्ने शिक्षा हुनुपर्ने बताए । उनले अभिभावक र वावुआमाबीच अन्तर हुनुपर्ने समेत बताए । साथै उनले बच्चाबच्चीको कुराहरु धेरै सुन्नुपर्ने समेत बताए ।

तुलसीपुर ६ स्थित ग्रेट अरणीको माध्यामिक विद्यालयले आयोजना गरेको अभिभावक शिक्षा कार्यक्रममा प्रशिक्षण दिदै उनीहरुले यस्तो बताए । त्यस अवसरमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मानबहादुर बस्नेतले अभिभावक,शिक्षक र विद्यार्थीबीचको त्रिपक्षिय भूमिकाले नै विद्यार्थीको पठन–पाठन गुण्स्तरीय हुने बताए । उनले विद्यार्थीको पहिलो पाठशाला घर भएकाले घरमा विद्यार्थीहरुलाई सरल ब्यबहार गर्ने समेत बताए । परिस्थिति फेरिएको भन्दै अब परम्परागत शैलीको पढाई नभई आधुनिक शैलीबाट अध्यापन हुनुपर्ने बताए । उनले बजारमा टिक्ने,विक्ने र सिक्ने शिक्षा अहिलेको आबश्कता रहेको बताए ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक विष्णु कुमार देवकोटाले हाल नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन भइरहेको बताए । उनका अनुसार हाल साढे १२ सय बढि विद्यार्थी विद्यालयमा अध्ययनरत छन्, भने ६५ शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।

विद्यालयले पठनपाठनसंगै बिभिन्न अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ । खेल क्षेत्रमा राष्ट्रिय खेलाडी समेत ग्रेट अरणीकोले उत्पादन गरेको छ । सहायक प्रधानाध्यापक कमलप्रकाश शर्माले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कार्यक्रम निर्देशक नेत्रलाल भट्टराईले गरेका थिए ।