किवानिज क्लब अफ तुलसीपुर मेट्रोको अध्यक्षमा केसी

दाङ, १७ माघ ।
किवानिज क्लब अफ तुलसीपुर मेट्रोको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । संस्थाका नवनिर्वाचित पदाधिकारीहरूलाई एक औपचारिक कार्यक्रमका बीच शपथ ग्रहण गराई पदभार हस्तान्तरण गरिएको हो ।

क्लबको अध्यक्षमा आशिष केसी निर्वाचित हुनुभएको छ । त्यसैगरी आगामी अध्यक्षमा चुडामणि जैसी, उपाध्यक्षमा सन्ध्या सुवेदी, सचिवमा सुशील खनाल, कोषाध्यक्षमा सुदीप शर्मा चयन हुनुभएको छ । यस्तै, कार्यक्रम संयोजकमा स्यानी चौधरी चयन हुनुभएको छ भने सदस्यहरूमा गिमानन्द डाँगी, संगीता चौधरी, हेमन्त अधिकारी र पूर्णबहादुर चौधरी चयन हुनुभएको छ ।

नवनिर्वाचित पदाधिकारीहरूलाई किवानिज इन्टरनेसनलका ट्रस्टी मोहन लम्साल, डिस्ट्रिक्ट गवर्नर डा। रामहरी थपलिया, गभर्नर इलेक्ट रामहरी सुवेदी, पूर्व डिस्ट्रिक्ट गभर्नर तीर्थकुमार सिंह, डिभिजन ५ का एलटी गभर्नर अमनमान श्रेष्ठ, भाइस गभर्नर बिमल पौडेल लगायतले शपथ ग्रहण गराउनुभएको थियो ।

किवानिज क्लब अफ तुलसीपुर मेट्रोको स्थापना सन् २०२१ मा भएको हो । क्लबका संस्थापक सचिवका रूपमा काम गर्नुभएका केसी विभिन्न जिम्मेवारी सम्हाल्दै हाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । केसी विगत एक दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा समेत क्रियाशील रहँदै आउनुभएको छ ।

उक्त अवसरमा दाङ जिल्लामा रहेका विभिन्न किवानिज क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई समेत शपथ ग्रहण गराइएको थियो । कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधिहरूले आ–आफ्नो क्लबको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


डिस्ट्रिक्ट गभर्नर रामशरण थपलियाको अध्यक्षता तथा किवानिज इन्टरनेसनलका ट्रस्टी मोहन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण गभर्नर इलेक्ट भरत ढुंगेलले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लम्सालले किवानिजले बालबालिकाको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले किवानिजको माध्यमबाट बालबालिकाको स्वास्थ्य, शिक्षा र सचेतनाको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै यसको विस्तारमा सबै जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रमसँगै क्लबका सम्पूर्ण सदस्यहरूका लागि नेतृत्व विकास तालिम समेत सञ्चालन गरिएको थियो । तालिममा डिभिजन ५ र ६ अन्तर्गतका करिब ४ सय जना सदस्यहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

किवानिज इन्टरनेसनलको स्थापना सन् १९१५ मा अमेरिकामा भएको हो । नेपालमा भने सन् २०१५ देखि सक्रिय रहँदै आएको किवानिज इन्टरनेसनलका हाल देशभर ८० भन्दा बढी शाखा रहेका छन् । क्लबले विशेषगरी बालबालिकाको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा विभिन्न सामाजिक सेवा गतिविधि गर्दै आएको छ ।