
तुलसीपुर, १५ मंसिर ।
प्रहरी चौकी उरहरीको भान्साघरको उद्घाटन गरिएको छ । तुलसीपुर उपहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उद्घाटन गर्नुभएको हो । तुलसीपुर उपमहानगरपालिकाको चार लाख ९५ हजारको लागतमा तीन कोठे भान्से घरको निर्माण गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले पालिकाभित्र रहेका प्रहरी युनिटमा जग्गाप्राप्ति भएका स्थानमा आवश्यक संरचना निर्माण गरिने बताउनुभयो । उहाँले जग्गाप्राप्तिका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभयो । वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरीको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख अर्जुनप्रसाद तिमिल्सिनाले समुदाय र प्रहरीको सहकार्यमा अपराध नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले जिल्लामा ६८ वटा प्रहरी युनिटमध्ये १४ वटा भाडामा सञ्चालन रहेको र ११ वटाको जग्गा प्राप्ति भएपनि भवन निर्माण गर्न साधनस्रोतको अभाव रहेको बताउनुभयो । उहाँले देशभर ३४ हजार जिल्लामा चार सय जनशक्ति अभाव रहेको बताउनुभयो ।
स्थानीय द्रोण बस्नेतले प्रहरी चौकीमा शौचालय र गोलघरको आवश्यकता रहेको बताउनुभयो । उहाँले समुदायबाटै निर्माण सुरु गरिएको प्रहरी चौकी थप संरचना निर्माणमा स्थानीय सरकारको सहयोग सकारात्मक रहेको बताउनुभयो ।
प्रहरी चौकी उरहरीका प्रमुख भरतनाथ योगीेले तीन कोठे भवनमा भान्सा मात्र नभइ विपदको समयमा राहत सामग्री व्यवस्थापन,निर्वाचनको समयमा निर्वाचन सामग्रीसमेत व्यवस्थापन गर्न सकिने बताउनुभयो ।
सामाजिक विकास समितिका संयोजक एवम ११ वडाध्यक्ष मानबहादुर रावत,वडा नं.१० वडाध्यक्ष यमराज केसी,महिला नेतृ सुष्मा गिरी लामिछानेलगायतकाले बोल्नुभएको थियो । कार्यक्रममा प्रहरी चौकी उरहरीलाई चार कठ्ठा जग्गा दान गर्नुहुने तेजबहादुर बुढाथोकी र तीन कठ्ठा जग्गादाता दान गर्नुहुने मानबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।



लाइभदाङ । १५ मंसिर २०८१, शनिबार १९:५९ बजे