लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

दाङ, ८ माघ । लुम्बिनी प्रदेश सरकारले वसन्त पञ्चमी (श्रीपञ्चमी)को पावन अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशले एक सूचना जारी गर्दै २०८२ माघ ९ गते शुक्रबार प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा लागू हुने जनाएको हो।


मन्त्रालयका अनुसार वसन्त पञ्चमीको धार्मिक, सांस्कृतिक तथा शैक्षिक महत्वलाई ध्यानमा राख्दै प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। विशेष गरी सरस्वती पूजा गरी विद्या, ज्ञान र कलाको आराधना गर्ने यस दिनको अवसरमा सर्वसाधारणलाई सहज रूपमा धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुन सक्ने वातावरण सिर्जना गर्ने उद्देश्यले बिदा प्रदान गरिएको जनाइएको छ।

यस निर्णयसँगै लुम्बिनी प्रदेशभित्रका सरकारी कार्यालय, प्रदेश मातहतका निकायहरू तथा शैक्षिक संस्थाहरूमा नियमित सेवा प्रवाह बन्द रहने छ।