तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

दाङ, ३० पुस ।
दाङ स्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दंगीशरण गाउँपालिका–४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो ।


चौधरी गएको मंसिर २८ गते लागु औषध ब्राउनसुगर सहित तुलसीपुर बसपार्कबाट पक्राउ परेका थिए । ५ दशमलव १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका उनी विरुद्ध मुद्दा चलिरहेको थियो ।

बिहान एक्कासी बेहोस भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शवलाई आफन्तले बुझेर लगिसकेका छन् । उनको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने चिकित्सकले बताएका छन् ।