
मसुरिया,२२ जेठ।
दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङमा एआई एक्सरे प्रविधिमार्फत सक्रिय क्षयरोग खोजपड्ताल तथा निःशुल्क परीक्षण शिविर शुक्रबार सम्पन्न भएको छ।
राप्ती गाउँपालिकाको आयोजना, बीएनएमटी नेपाल र नाटा नेपालको प्राविधिक सहयोग तथा समन्वयमा सञ्चालन गरिएको शिविरमा १ सय ७४ महिला र ८४ पुरुष गरी कुल २ सय ५८ जनाको स्वास्थ्य परीक्षण तथा छातीको एक्सरे जाँच गरिएको थियो।
परीक्षणका क्रममा १९ जना शंकास्पद बिरामी पहिचान भएका छन्। उनीहरूलाई थप परीक्षणका लागि जीन एक्सपर्ट परीक्षणका लागि रिफर गरिएको छ।
लालमटिया स्वास्थ्य चौकीमा भालुबाङमा सम्पन्न शिविरमा स्वास्थ्यकर्मीहरूले एआई प्रविधियुक्त डिजिटल एक्सरेमार्फत क्षयरोगको सम्भावित जोखिम भएका व्यक्तिहरूको परीक्षण गरेका थिए।
शिविरबाट समुदायस्तरमै क्षयरोगका बिरामी पहिचान गरी समयमै उपचारमा पहुँच पुर्याउने उद्देश्य राखिएको बताइएको छ।
राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार शिविर विशेषगरी १५ वर्षभन्दा माथिका नागरिक, क्षयरोगीको सम्पर्कमा आएका व्यक्ति, मधुमेह, क्यान्सर, एचआईभीरएड्स लगायतका रोगबाट प्रभावित व्यक्ति, धूम्रपान तथा लागुपदार्थ सेवन गर्ने व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा विभिन्न उद्योग–कलकारखानामा कार्यरत मजदुरलाई लक्षित गरिएको छ।
स्वास्थ्यकर्मीहरूले लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने, तौल घट्ने, खानामा रुचि कम हुने, छाती दुख्ने, खकारमा रगत देखिने तथा अत्यधिक थकान महसुस हुने जस्ता लक्षण देखिएमा अनिवार्य रूपमा क्षयरोग परीक्षण गराउन आग्रह गरेका छन्।
यस अभियानअन्तर्गत आगामी जेठ २४ गते शनिबार राप्ती गाउँपालिका वडा नं। ५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा पनि यस्तै शिविर सञ्चालन गरिने भएको छ।
शिविर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने र सेवाग्राहीलाई सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइनेछ।
गाउँपालिकाले लक्षित समूहका नागरिकलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ।



लाइभदाङ । २२ जेष्ठ २०८३, शुक्रबार २०:३५ बजे