
दीपक बोहरा
दाङ, २९ पुस ।
थारु समुदाय कला, संस्कार र संस्कृतिका हिसाबले धनी समुदाय हो । जसको पोशाक, थारु नाचहरु, संस्कार, खानपानलगायतका कुराहरु अन्य समुदायका भन्दा अनौठा र फरक छन् । त्यही फरक भएकै कारण पनि थारु समुदायलाई अरु समुदाय भन्दा संस्कार र संस्कृतिका हिसाबले धनी पनि मानिन्छ । तर,केही संस्कार, संस्कृति भने लोप हुने अबस्थाका न् ।
गाउन छोडियो ढुम्रु
थारु समुदायले माघीको अघिल्लो दिन अर्थात पुसको अन्तिम दिन रातभर ढुम्रु नाच्ने चलन थियो । गाउँका थारु समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्रु गीत गाउने र नाच्ने चलन थियो । “गीत गाउने, नाच्ने र रातभर दाउराको आगो ताप्ने चलन थियो”, थारु अगुवा आशाराम चौधरीले भने “ यो हाम्रो संस्कार हो ।”
रातभर नाचगान गर्ने र विहान त्यही ढुम्रु गीत गाउँदै नदी तथा खोलामा गएर नुहाउने गरिन्थ्यो, भने नुहाई सकेपछि महतवाले सबैलाई टिका लगाईदिने र पुनः महतवाकै घरमा पुग्ने चलन थियो । महतवाका घरमा पुगेपछि सबै आ–आफ्नो घरमा जाने चलन भएपनि पछिल्लो समय यो चलन हराउँदै गएको थारु अगुवा चौधरीले बताए ।“पुर्खाहरुले यस्तो चलन अपनाउनु हुन्थ्यो”,उनले भने “तर, अहिले नयाँ पुस्ताले यो कुरा चटक्कै छोड्नु भएको छ ।”
यस्तो चलन हराउँदै गएको २०/२५ बर्ष भइसकेको तुलसीपुर १८ निवासी फुलाराम चौधरीले बताए । पहिले–पहिले उहाँहरुले यसरी ढुम्रु नाच नाच्नु हुन्थ्यो । तर, अहिले नाच्न छोडेको उनले बताए । “२०/२५ बर्ष अघि हामी पनि नाच्थ्यौं”,उहाँले भन्नुभयो“अहिले त नाच्न पनि छोडियो ।
नयाँ पुस्तालाई यो नाचका बारेमा जानकारी नहुँदा पनि समस्या हुने गरेको नमुना भुह्यारथान तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले बताए । उनका अनुसार यो नाचले थारु समुदायको एकताको भावना जागृत गर्ने भन्दै यसलाई संरक्षण गर्न लागिएको छ । “हाम्रो हाम्रो संस्कार, संस्कृति नभई थारु समुदायलाई एक भएको सन्देश दिने कुरा पनि हो”,उनले भने“ तर, यो लोप हुने अबस्थामा छ, यसलाई संरक्षण गर्नुपर्छ, भनेर हामी लागेका छौं ।” उनले यो नाच लोप भएपछि प्रत्येक बर्ष कार्यक्रम गरि नाच संरक्षणमा लागेको समेत बताए ।
यसले नयाँ पुस्तामा नाचका बारेमा जानकारी हुने समेत उनको भनाई छ । यस बर्ष पनि त्यो कार्यक्रम गरिएको अध्यक्ष बताए ।
लगाउन छोडियो थारु पोशाक
कुनै समय थारु समुदायका पुरुषले कछौटी, टेनिहा झुल्वा, पग्या लगाउथे, भने विवाहित महिलाले डइनाहा, झूल्वा लगाउथे । अविवाहितले चोल्या, गोन्या लगाउथे । सधै थारु समुदायले लगाउने ति पोशाकले पहिचान झल्काउथ्यो । तर, अहिले थारु समुदायले त्यस्तो पोशाक लगाएको विरलै देखिन्छ । कुनै कार्यक्रम वा पोशाकको सन्देश दिनकालागि बाहेक अन्य समयमा ति पोशाक लगाउने गरिएको छैन ।
जसले गर्दा थारु समुदायका ब्यक्ती र अन्य समुदायका ब्यक्तीमा फरक छुट्याउन नससिकने अबस्था रहेको दाङको तुलसीपुर स्थित नमुना भुह्यारथान दाङका अध्यक्ष रामशरण चौधरीले बताए ।“थारु समुदायका आफ्नै पहिचान थिए, आफ्नै पहिरण छन्, हाम्रा पुर्खाले त्यस्ता पहिरण लगाउने गर्नुहुन्थ्यो” ,उनले भने “तर, अब त्यो हराउने अबस्थामा पुगेको छ ।”

अहिले बुढापाकाले ति पोशाक लगाउने गरेको भएपनि नयाँ पुस्ताले भने त्यो पोशाकमा खासै चासो नदिएको उनको भनाई छ। यस्ता पोशाक संरक्षण गर्न बिभिन्न कार्यक्रम गर्ने गरिएको भएपनि यो औपचारिकमा मात्रै सीमित हुने अबस्था रहेको उनको भनाई छ।
आधुनिक समाजसंग थारु समुदाय पनि घुलमिल हुँदा आफ्ना पहिचानलाई खासै चासो नदिएको पाईएको अध्यक्ष चौधरीले बताए ।“थारु समुदायको कार्यक्रममा केहीले लगाएको देखिन्छ”,उनले भने “त्यो बाहेक अन्य समयमा लगाएको पाइदैन ।” अहिले थारु समुदायको पोशाक देख्दा थारु समुदायकै ब्यक्तीले अनौठो मान्ने अबस्था आईसकेको समेत उनको भनाई छ ।
हरायो ससुरालीमा दाउरा लैजाने चलन
कुनै बेला थारु समुदायमा माघीमा दाउरा बोकेर माइती लैजाने चलन थियो । माइतीमा बुढेसकाल लागेका आमा÷वुवा रहने र उहाँहरुले बनबाट दाउरा ल्याउन नसक्ने अबस्था हुन्छ । त्यस्तो अबस्थामा माघ १ गते छोरी/ ज्वाइले माइतीमा दाउरा लैजाने चलन हुन्थ्यो । तर, अहिले त्यो चलन हराएको छ । खास गरि माइतीमा आमा÷वुवालाई आगो ताप्न सहज होस्, भनेर यसरी दाउरा लैजाने चलन थियो ।
बनमा गएर एक भारी दाउरा ल्याउने र माइतीमा लैजाने चलन रहेपनि अहिले हराएको तुलसीपुर १८ निवासी फुलमान चौधरीले बताए ।“पहिले माघीमा माइतीमा दाउरा लैजाने चलन थियो”,उनले भने “अहिले त्यो चलन हराइसकेको छ ।” आफूहरुले समेत माइतीमा दाउरा लैजाने गरेको भएपनि अहिले त्यो चलन हराएको उनको भनाई छ । अहिले घर–घरमा हिटरको समेत प्रयोग हुने तथा पहिले जस्तो दाउराको समस्या पनि नहुँने भएकाले त्यसरी दाउरा लैजाने चलन हराएको हुन सक्ने तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए । “अहिले घर–घरमा हिटर हुन्छ, पहिले जस्तो समस्या पनि हुँदैन”,उनले भने “त्यसैले पनि अहिले यो चलन हराएको हुन सक्छ ।”



लाइभदाङ । २९ पुष २०८२, मंगलवार ०७:३० बजे