गढवामा माटो परीक्षण घुम्ती शिविर सञ्चालन, किसानलाई माटो जाँचपछि मात्र मल प्रयोग गर्न आग्रह

आलोक भावुक
गढवा,१८ जेठ ।
गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा माटो परीक्षण घुम्ती शिविर सञ्चालन भइरहेको छ। कृषियोग्य जमिनको माटोको अवस्था पहिचान गरी आवश्यकताअनुसार मलखाद प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको गढवा गाउँपालिका कृषि विकास शाखाका प्रमुख कर्ता राम यादवले जानकारी दिनुभयो।

कृषि विकास शाखाले किसानहरूलाई माटो परीक्षण गराएर मात्र मलखाद प्रयोग गर्न आग्रह गरेको छ। पछिल्लो समय जथाभावी तथा अत्यधिक रासायनिक मलको प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको र माटोको गुणस्तरमा नकारात्मक असर परेको गढवा गाउँपालिका कृषि विकास शाखाका कृषि प्राविधिक हेमराज पुनले बताउनुभयो।

शिविरमार्फत किसानहरूको खेतबारीबाट ल्याइएका माटोका नमुनाहरू परीक्षण गरी माटोमा रहेको पोषक तत्व, अम्लीयता तथा आवश्यक मलखादको मात्रा सम्बन्धी जानकारी प्रदान गरिनेछ। यसबाट किसानहरूले बालीको आवश्यकता अनुसार वैज्ञानिक तरिकाले मलखाद प्रयोग गर्न सक्ने विश्वास लिइएको छ।

कृषि विकास शाखाका अनुसार आइतबार वडा नं. ६ को वडा कार्यालयमा माटो परीक्षण शिविर सञ्चालन भइरहेको छ भने सोमबार वडा नं। ७ को वडा कार्यालयमा शिविर सञ्चालन गरिनेछ। अन्य वडाहरूमा भने शिविर सम्पन्न भइसकेको छ। शाखाले सम्बन्धित वडाका सम्पूर्ण किसानलाई माटोको नमुना लिएर शिविरमा सहभागी हुन अनुरोध समेत गरेको छ।


गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कृषि उत्पादन वृद्धि र माटोको दीर्घकालीन संरक्षणका लागि माटो परीक्षण अपरिहार्य रहेको बताउनुभयो। उहाँले माटोको वास्तविक अवस्था थाहा नपाई मलखाद प्रयोग गर्दा उत्पादन लागत बढ्नुका साथै माटोको स्वास्थ्यमा समेत असर पर्ने भएकाले वैज्ञानिक कृषि प्रणाली अवलम्बन गर्न किसानहरूलाई आग्रह गर्नुभयो।

“माटो परीक्षणका आधारमा मलखाद प्रयोग गर्दा उत्पादन वृद्धि हुनुका साथै अनावश्यक खर्च पनि कम हुन्छ। स्थानीय किसानलाई आधुनिक तथा वैज्ञानिक खेतीतर्फ उन्मुख गराउन गाउँपालिका निरन्तर लागिपरेको छ,” अध्यक्ष पोख्रेलले भन्नुभयो।

गाउँपालिकाले कृषि उत्पादन वृद्धि, लागत न्यूनीकरण तथा माटोको संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।