राप्रपाको एजेन्डा र नेतृत्व मजबुत छः डा. धवल शम्शेर राणा

दाङ, २६ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शम्शेर राणाले पार्टीको एजेन्डा, विचार र नेतृत्व अन्य राजनीतिक दलको तुलनामा मजबुत रहेको दाबी गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति दाङको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री राणाले राप्रपाले लिएको सिद्धान्त, एजेन्डा र वैचारिक स्पष्टता नै पार्टीको मुख्य शक्ति भएको बताए। पार्टीलाई बलियो बनाउने मुख्य आधार कार्यकर्ता रहेको उल्लेख गर्दै उनले संगठन सुदृढीकरणमा सबै तहका कार्यकर्ताको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे।

पार्टीभित्र देखिएका कमी–कमजोरी सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले राप्रपा र राप्रपा नेपालबीचको एकतालाई राष्ट्रवादी शक्तिको एकीकरणका रूपमा व्याख्या गरे। राणाले राप्रपालाई वैकल्पिक प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित पार्टी भएको उल्लेख गर्दै हिन्दु राष्ट्र र राजसंस्था पार्टीका मुख्य एजेन्डा रहेको स्पष्ट पारे। सबै हिन्दुवादी शक्तिलाई एकताबद्ध हुन आग्रह गर्दै पार्टी देशव्यापी रूपमा संगठन विस्तारमा जुटिरहेको उनले बताए।

महामन्त्री राणाले पार्टीभित्र नैतिकता, संस्कार र अनुशासन अनिवार्य रहेको उल्लेख गर्दै नेतृत्वविरुद्ध अनुशासनहीन गतिविधि गर्ने जो–कोहीमाथि कारबाही हुनुपर्ने स्पष्ट पारे। पार्टी विधि र विधानअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै पदीय मर्यादा विपरीतका गतिविधि स्वीकार्य नहुने उनको भनाइ थियो।

अधिवेशनका विशिष्ट अतिथि सह–महामन्त्री ऋषिराज देवकोटाले राजा, राजनीतिक दल र ‘जेन–जी’ पुस्ताबीच समझदारी कायम भए मात्र मुलुकले निकास पाउने बताए। उनले निषेधको राजनीतिले देशलाई अघि बढाउन नसक्ने उल्लेख गर्दै अधिवेशनबाट पार्टी नयाँ ऊर्जा सहित अघि बढ्ने विश्वास व्यक्त गरे।


केन्द्रीय सल्लाहकार अम्मरबहादुर ओलीले दाङमा राप्रपाको संगठन बलियो सम्भावना हुँदाहुँदै अपेक्षित रूपमा अघि बढ्न नसकेको उल्लेख गर्दै आगामी नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे।

अधिवेशनमा केन्द्रीय सदस्य मिना स्वर्णकार, केन्द्रीय सदस्य सरिता देवकोटा, पूर्व जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत, क्षेत्र नं. २ का अध्यक्ष नरबहादुर बुढाथोकी, क्षेत्र नं. ३ का अध्यक्ष दीपककुमार धिताल, घोराही नगर अध्यक्ष यादव श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

जिल्ला उपाध्यक्ष प्रेमबहादुर शाहको स्वागत मन्तव्यबाट सुरु भएको अधिवेशनको सञ्चालन जिल्ला सचिव त्रिभुवन थापाले गरेका थिए। कार्यक्रम जिल्ला कार्यसमितिका अध्यक्ष किशोरकुमार न्यौपानेको अध्यक्षता तथा केन्द्रीय महामन्त्री डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा शुक्रबार घोराहीमा भएको हो।

अधिवेशनमा वडा, गाउँपालिका, प्रदेश तथा क्षेत्रीय कार्यसमिति प्रतिनिधि र विभिन्न तहका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

यसअघि दाङका सबै स्थानीय तह, प्रदेश र क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको राप्रपा दाङ निर्वाचन समितिका सदस्य कमल न्यौपानेले जानकारी दिए। जिल्ला निर्वाचन भने कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया जारी रहेको उनले बताए