
दाङ, २६ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित ज्ञान ज्योति आधारभूत विद्यालयमा अध्ययनरत अति विपन्न विद्यार्थीहरूलाई कपडा तथा मोजा वितरण गरिएको छ । अम्बिकेश्वरी अटो मार्ट (होण्डा सोरुम) ले उक्त सामग्री वितरण गरेको हो ।
कार्यक्रममा अम्बिकेश्वरी अटो मार्टका प्रोप्राइटर दिपेश भण्डारीले शिक्षा र सामाजिक सेवामा आफ्नो संस्थाले निरन्तर योगदान दिँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी परियारको अध्यक्षतामा भएको हो। प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का कार्यवाहक वडा अध्यक्ष भीमबहादुर केसीले ज्ञान ज्योति आधारभूत विद्यालयलाई शैक्षिक तथा भौतिक रूपमा अझ मजबुत र व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
कार्यक्रमका विशिष्ट अतिथि वडा सचिव सञ्जय गुप्ताले ज्ञान ज्योति विद्यालयले विपन्न तथा पिछडिएका समुदायका विद्यार्थीहरूको पठनपाठनमा उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै यस्ता सहयोग कार्यक्रमले शिक्षामा सकारात्मक प्रभाव पार्ने धारणा राखे ।
विद्यालयका प्रिन्सिपल मेघराज घिमिरेको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो ।



लाइभदाङ । २६ पुष २०८२, शनिबार ०७:१६ बजे