
दीपक बोहरा
दाङ, २८ मंसिर ।
नेपालमा स्वर्णविन्दूप्रासन खुवाउने प्रचलन थिएन । भारतमा भने स्वर्णविन्दू खुवाईदै आईएको थियो । नेपालमा पनि स्वर्णविन्दूप्रासन खुवाउनु पर्छ भन्ने मान्यता सहित पहिलो पटक दाङको तुलसीपुर १८ विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले २०७९ सालदेखि स्वर्णविन्दू खुवाउन सुरु ग¥यो । सुरुको बर्ष ८७ बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइएको थियो ।
तत्कालिन चिकित्सालय प्रमुख सन्तोष ठाकुरले यसको सुरुवात गरेका थिए । सुरु–सुरुमा यो सेवाका बारेमा बुझाउन निकै समस्या थियो । तर,अहिले भिड थाम्नै गाह्रो हुने अबस्था रहेको छ । यसको बारेमा बुझेपछि अहिले विहान ४ बजेदेखि स्वर्णविन्दू खुवाउने लाइन हुन्छ ।“अहिले हामीलाई भिड थाम्नै धौ–धौ हुने गर्छ”, चिकित्सालयका सूचना अधिकारी बसन्त केसीले भने“विहान ४ बजेदेखि स्वर्णविन्दू खुवाउने लाइन नै हुन्छ ।”
यसरी दाङमा स्वर्णविन्दू खुवाउन थालेपछि आयुर्वेदप्रतिको आकर्षण पनि बढेको छ । ‘आमा’हरुपनि उत्साहिन हुने गरेका छन् । यसमा कुनै ‘साइड इफेक्ट’ पनि नभएको उनले बर्ता ।
विहानै आउछन्,‘आमाहरु’
स्वर्णविन्दू खुवाउन थालेपछि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ लहलौरा निवासी शुसिला चौधरीले छोरालाई नियमित खुवाउन थालिन । त्यो खुवाएपछि छोराको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताईन् ।“मैले सुरुवातदेखि नै खुवाउन थालेकी हुँ”,उनले भनिन्“त्यसले रोगप्रतिरोधात्मक क्षमता बढाएको अनुभव भएको छ ।”
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं.१७ झिँगै निवासी डिल्ली डाँगीले पनि दुई बर्षदेखि छोरालाई स्वर्णविन्दुप्राशन खुवाउँदै आएका थिए । उनले पनि छोरालाई रुघा खोकी नलाग्ने, विरामी नहुँने भएको बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी उशा वलीले सबैले खुवाउन लागेको थाहा पाएपछि आफ्नो छोरीलाई पनि स्वर्णविन्दुप्राशन खुवाउन लागेको बताईन् । “मैले साथीहरुले भनेपछि थाहा पाए”,उनले भनिन्“अब नियमित छोरीलाई खुवाउछु ।”
त्यस्तै तुलसीपुर ५ रानीजरुवा निवासी दीपा डाँगीले पनि बच्चाको पाचन प्रणाली राम्रो हुने, रोगसंग लड्न सक्ने क्षमताको विकास हुने, शरिरको हरेक बृद्धि विकास हुने थाहा पाएपछि खुवाउन सुरु गरेको बताईन् । विहानै ५ बजेदेखि यसरी लाइन लाग्ने गरेको उनले बताईन् । यसरी स्वर्णविन्दुप्राशन खुवाउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्ने भएकाले यसप्रति आकर्षण बढेको छ ।
स्वर्णविन्दू खुवाउने बढ्दै
अहिले प्रत्येक पटक १२ हजारसम्मले स्वर्णविन्दू खुवाउने गरिएको छ । आर्थिक बर्ष २०७९÷०८० देखि उक्त सेवा सुरु भएको हो । सोही आर्थिक बर्षमा ५ हजार ५५ जनाले मात्रै सेवा लिएका थिए, भने गएको आर्थिक बर्ष २०८०÷०८१ मा १२ हजार ६ सय ६६ जनाले सेवा लिएका थिए । त्यस्तै २०८१÷०८२ मा २६ हजार ६ सय ७१ जनाले खुवाएको चिकित्सालयका प्रमुख डा.प्रवेश श्रिवास्तवले बताए । उनका अनुसार चालु आर्थिक बर्षको अहिलेसम्म २१ हजार ८ सय ५८ जनाले स्वर्णविन्दू खुवाएका छन् । यो तथ्यांक हेर्दा यो बर्ष अझै धेरै बढ्ने सम्भावना रहेको श्रीवास्तबको भनाई छ ।“प्रत्येक बर्ष बढिरहेको छ”,उनले भने “यो बर्ष झनै बढ्ने देखिन्छ।”
कहिले खुवाइन्छ स्वर्णविन्दू ?
प्रत्येक पुष्य नक्षत्रको दिनमा स्वर्णबिन्दू खुवाउने गरिन्छ । यो धेरैजसो महिनामा एक पटक पर्दछ तर कुनै महिनामा दुई पटकसम्म पर्दछ । यो नक्षत्र प्रायः महिनामा कम्तीमा पनि एक दिन पर्ने गर्दछ । बच्चालाई कहिले खुवाउने भन्ने मिति अस्पतालले सबै सहभागी अभिभावकलाई जानकारी गराउने गरेको छ । स्वर्णविन्दु प्राशनको कार्डमा यो तिथिमिति उल्लेख हुन्छ । एउटा ड्रपरको माध्यमबाट प्रत्येक बालबालिकालाई उमेर अनुसार दुईदेखि चार थोपासम्म खुवाउन सकिन्छ । ६ महिनादेखि ५ बर्ष मुनीका बालबालिकाहरुलाई स्वर्णविन्दू खुवाइन्छ ।
केहो स्वर्णविन्दू ?
बालबालिकाको मानसिक क्षमता बढाउने आयुर्वेद चिकित्सा पद्धति स्वर्णप्राशन हो । स्वर्णप्राशन मह, अश्वगन्धा, शंखपुष्पी, वाचालाई सुनको भष्मसँग मिसाएर तयार पारिन्छ । यो उपचार पद्धतिले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने, खानामा रुची हुने, पाचन प्रक्रियामा सहज हुने, बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोगी हुन्छ । निःशुल्क रुपमा यो स्वर्णप्राशन गराउने गरिन्छ । यद्यपी चिकित्सालयले एक पटक खुवाउँदा ६० हजार भन्दा बढि खर्च गर्दै आएको छ । यो खुवाउँदा बालबालिकाहरुमा रुघा कम लाग्ने, अन्य स्वास्थ्य अबस्था पनि राम्रो भएको भनि प्रतिक्रिया आउने गरेको उनको भनाई छ । चिकित्सालयमै बालरोग विशेषज्ञ भएकाले पनि यो औषधी निर्माण गर्न पनि सहज भएको छ ।“उहाँहरुले यो विषय नै पढेर आउनु भएको हुन्छ”,उनले भने“त्यसले गर्दा औषधी बनाउन पनि सहज नै छ ।”
खुवाउँदा पनि विश्वविद्यालयमा विएएमएसका विद्यार्थीहरु प्रयोगात्मकका लागि आउने भएकाले त्यही जनशक्तिलाई प्रयोग गरिने गरिएको छ ।
बाहिरी जिल्लाको पनि आकर्षण
स्वर्णविन्दू खुवाउन दाङ मात्रै होईन्, बाहिरी जिल्लाबाट समेत आउने गरेका छन् । “दाङको तुलसीपुर उपमहानगरपालिका बाहेक घोराही, शान्तिनगर, बबई, लमही, दंगीशरण गाउँपालिका आउछन”, प्रमुख श्रीवास्तवले भने“छिमेकी जिल्लाहरू रोल्पा, प्यूठान, सल्यान,बाँके,बर्दियाबाट समेत आउछन् ।” भिड ब्यबस्थापनकालागि सुरक्षाकर्मीहरु समेत खटाउनु पर्ने अबस्था छ ।
प्रदेशका अन्य जिल्लाबाट पनि खुवाउन सुरु
यस भन्दा अघिको नक्षत्रकालागि दाङको तुलसीपुर ९ दोघेरे स्थित आर्युवेद चिकित्सालयले पनि सुरु गरेको छ । स्वर्णविन्दूप्रति आमाहरुको आकर्षण बढेपछि त्यहाँबाट पनि खुवाउन सुरु गरिएको हो । लुम्बिनी प्रदेशको रुपन्देही, नवलपरासी, बर्दियामा पनि यो सेवा सुरु भएको छ ।
त्यस्तै प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी, जिल्ला आयुर्वेद चिकित्सालय चितवनले पनि यो सेवा सुरु गरेको छ । हाल बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयलाई संघीय रकारले स्वर्णविन्दु प्राशन कार्यक्रमका लागि पाँच लाख रुपैयाँ पठाएको छ भने तुलसीपुरस्थित दोघरे आयुर्वेद चिकित्सालयलाई प्रदेश सरकारले एक लाख रुपैयाँ मात्र पठाएको छ ।
अब यो सेवालाई हरेक आयुर्वेद उपचार केन्द्रमार्फत विस्तार गर्ने नीति आयुर्वेद विभागले लिएको छ । आयुर्वेद विभागको परिपत्र अनुसार मुलुकभरका कम्तीमा २४ वटा आयुर्वेद स्वास्थ्य संस्थामा एकैसाथ सुरु भएको छ । अब स्वर्णविन्दु प्राशन खुवाउने दिन अर्को महिना पुसको २१ गते परेको छ ।
स्वर्णविन्दूले आयुर्वेदप्रतिको आकर्षण
कुनै समय आयुर्वेद अस्पतालहरु सुनसान हुन्थे । विरामीहरुको आकर्षण घट्दै गएको थियो । तर, स्वर्णविन्दूप्रासन सुरु भएपछि आकर्षण बढेको चिकित्सालय प्रमुख श्रीवास्तवले बताए ।“आयुर्वेदहरु सुनसान थिए, आकर्षण घट्दै गएको थियो”,उनले भने“तर, अहिले यो सेवाले गर्दा आकर्षण बढेको छ ।” यस्तै नयाँ र प्रभाबकारी कार्यक्रम सञ्चालन गर्दा आयुर्वेदको महत्व बढ्ने उनको भनाई छ ।
उनका अनुसार चालु बर्षको अहिलेसम्म ४५ हजार ८ सय ८८ जनाले आयुर्वेदबाट सेवा लिएका छन् । यसरी सेवा बृद्धि हुनुमा स्वर्णविन्दू कार्यक्रमको नै मुख्य भूमिका रहने गरेको उनको भनाई छ । कुनै बेला बर्षभरिमा एक÷दुई हजार भन्दा बढिले सेवा लिने अबस्था थिएन । अहिले बढेको उनको भनाई छ ।“कुनै बेला सुनसान हुन्थे”,उहाँले भन्नुभयो“अहिले यही कार्यक्रमले गर्दा नै आयुर्वेदमा पनि स्वर्णविन्दू खुवाउनेको संख्या बढिरहेको छ ।”



लाइभदाङ । १७ पुष २०८२, बिहीबार २०:२६ बजे