
तुलसीपुर, १६ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित गोरखा माध्यमिक विद्यालयको १५ औं खेल सप्ताहको समापन गरिएको छ । बुधबार एक कार्यक्रमका गरि खेल सप्ताहको समापन गरिएको हो ।
विद्यालयमा भएको क्रिकेट प्रतियोगिता, फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता, मिनी म्याराथुन दौड, लङजम्प, हाइजम्प, एथ्लेटिक्स लगायतका खेलको समापन गर्नुकासाथै पुरस्कार वितरण गरिएको हो ।
विद्यालयले प्रतियोगितामा बिजयी खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेको छ । गोरखा ग्रुपका अध्यक्ष बिष्णुप्रसाद घर्ती मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा मन्त्री पाण्डेयले खेल क्षेत्र स्वास्थ्यकालागि मात्रै नभई पहिचान बनाउनकालागि समेत महत्वपूर्ण भूमिका रहेको बताए । उनले खेललाई समृद्धिसंग पनि जोड्नु पर्ने बताए । विद्यालय स्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पु¥याउने समेत उनको भनाई थियो ।
विद्यालयका प्रधानाध्यापक बिजयमान जीएमले स्वागत मन्तब्य ब्यक्त गर्दै खेलले विद्यार्थीलाई हरेक चुनौतिसंग जुध्न सहयोग पुग्ने बताए । उनले खेलले हारलाई सहजै स्वीकार गर्न सक्नुकासाथै जीवनका हरेक परिस्थितिको सामना गर्न पनि सक्ने क्षमताको विकास गर्न भूमिका खेल्ने बताए ।
साथै उनले विद्यालयबाट राष्ट्रिय स्तरकै खेलाडी उत्पादन गर्न भूमिका खेलेको समेत बताए । कार्यक्रमको सहजीकरण शिक्षक सुधान्सु गुप्ताले गरेका थिए ।



लाइभदाङ । १६ पुष २०८२, बुधबार २१:२३ बजे