
दाङ,०७ पौष।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत दाङको धानखोला–लमही सडकको ठेक्का सम्झौता भएको छ । एमसीए–नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडक खण्ड स्तरोन्नतिका लागि र उक्त कार्यको सुपरिवेक्षणका लागि दुई छुट्टाछुट्टै सम्झौता गरेको छ । जुन एमसीसीअन्तर्गत परियोजनाहरूमा पहिलो पटक नेपाली कम्पनीसँग ठेक्का सम्झौता हो ।
एमसीसी अन्तरर्गतका परियोजनाहरू मध्येको सडक स्तरोन्नतिको मुख्य ठेक्का पूर्ण रूपमा नेपाली कम्पनीहरूको संयुक्त उपक्रमले प्राप्त गरको छ । एमसीए–नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा नवीन प्रविधि प्रयोग गरी स्तरोन्नति गर्न शर्मा–कुमार जेभीसँग करिब २ करोड अमेरिकी डलर (भ्याट बाहेक २ करोड ८ लाख डलर) को सम्झौता गरेको छ ।
यस्तै उक्त सडक खण्डको स्तरोन्नति र नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरीवेक्षणका लागि इन्टरनेसनल कन्सल्टान्ट्स एन्ड टेक्नोक्राट्स प्रालिसँग ३६.६ लाख अमेरिकी डलरको अर्को सम्झौता पनि गरेको छ । एमसीए–नेपालले ठेक्का सम्झौता गरेका सबै विदेशी कम्पनीहरू रहेका छन् । यसअघि प्रसारण लाइन आयोजनाहरूमा एमसीए–नेपालले विदेशी कम्पनीहरूसँगको साझेदारीमा नेपाली कम्पनीहरू संलग्न गरेको थियो ।
तर एमसीसी अन्तर्गतको ठुलो भौतिक पूर्वाधारको ठेक्का पूर्ण रूपमा नेपाली स्वामित्वका कम्पनीले मात्र पाएका थिएनन्, पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डको ठेक्का पाएको पहिलो पटक हो ।
ठेक्का प्रतिस्पर्धामा नेपालसहित भारत र युक्रेनका गरी ११ वटा कम्पनीले प्रस्ताव हालेका थिए । त्यसमध्ये शर्मा–कुमार जेभी, कालिका कन्स्ट्रक्सन, तुँदी–आशीष जेभी र स्वच्छन्द–रमन जेभी गरी चारवटा कम्पनीहरू पूर्ण नेपालीको स्वामित्वका थिए ।
प्राविधिक र वित्तीय मूल्याङ्कनमा ११ कम्पनीमध्ये प्राविधिक र वित्तीय रूपमा भएको मूल्यांकनमा शर्मा–कुमार यो कामका लागि छनोट भएको हो ।
सम्झौता हस्ताक्षर कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले यस आयोजनालाई अमेरिका–नेपालबिच ७५ वर्षभन्दा लामो मित्रताको एक महत्त्वपूर्ण कडीको भएको बताएका थिए ।
अमेरिकी राजदूत थम्प्सनले धान खोला – लमही सडक स्तरोन्नति आयोजना र नारायणघाट – मुग्लिङ सडक मर्मत आयोजनाले अमेरिका–नेपाल साझेदारीको सशक्तता, मिलेनियम च्यालेन्ज कम्प्याक्टको गति तथा नेपाली जनता एवं नेपालमा कार्यरत अमेरिकी व्यवसायीहरूका लागि मूर्त परिणाम सिर्जना भएको बताए ।
त्यस्तै अर्थ मन्त्रालयका सह–सचिव डा। धनीराम शर्माले एमसीए–नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको विश्वास व्यक्त गरे ।
एमसीए–नेपाल कार्यकारी निर्देशक विष्टले दुई सम्झौताहरूले व्यापारिक लागत घटाउने र सडक सुरक्षामा अभिवृद्धि गर्ने बताए । उनले परियोजना समयमै सम्पन्न हुनेमा विश्वस्त रहेको समेत उल्लेख गरे । सडक मर्मतको कार्य आगामी २४ महिना (२ वर्ष) भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
एमसीसी परियोजनाअन्तर्गत धानखोला–लमही ४० किलोमिटर सडक खण्डको मर्मत तथा स्तरोन्नतिका विषयलाई लिएर स्थानीयहरूले विरोध गर्दै आएका छन् ।
आयोजनाको कार्यान्वयन लैजाने बेलामा स्थानीयले अवरोध गर्ने बताएका छन् । एमसीसी अन्तर्गतको यो सडकको विवाद अहिले पनि कायम छ । झण्डै ४० किलोमिटर लम्बाइको यो सडक पूर्वपश्चिम राजमार्गको अन्य सडकभन्दा कम चौडा बनाउन लागिएको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।
लुम्बिनी प्रदेश राजधानी दाङ क्षेत्रसँग जोडिने उक्त सडक दुई लेन बनाउने गरी ठेक्का आह्वान गरिएको भन्दै स्थानीयहरू असन्तुष्ट छन् । पूर्व–पश्चिम राजमार्गको अन्य सडकखण्डमा ४ लेनको सडक निर्माण भइरहेको अवस्थामा यो सडकलाई दुई लेनको मात्रै बनाउन लागिएको भन्दै विरोध भइरहेको अवस्थामा एमसीए–नेपालले ठेक्का सम्झाता गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अहिले पनि दुई लेनको छ । साँघुरो भएका कारण यसलाई एशियाली हाइवे मापदण्डमा स्तरोन्नति भइरहेको छ । झापादेखि कपिलवस्तुको गोरुसिङ्गेसम्म चार लेनको बनाउने प्रक्रिया अहिले पनि चलिरहेको छ ।
प्रदेश राजधानीभित्रै पर्ने क्षेत्रमा दुई लेनको मात्रै सडक बनाउन खोजिएपछि देउखुरीका स्थानीयवासी, राजनीतिक दल र विभिन्न संघसंस्थाले यसलाई फराकिलो बनाउन दबाब दिइरहेका छन् । तर एमसीए–नेपालले उक्त सडकको २ लेनमा बनाउने गरी सोमवार निर्माण कम्पनी छनोट गरी सम्झौता गरेको छ ।
सम्झौतामा एमसीए–नेपालले धानखोलादेखि लमहीसम्मको ४० किमि सडक खण्डमा स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको क्यारिज वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने जनाएको छ ।
यता सडक स्तरोन्नति गर्न छनोट भएका शर्मा एण्ड कम्पनी प्रवन्ध निर्देशक रमेश शर्माले आजै देखि कामको तयारी सुरु गरिने बताए । उनले केही प्राविधिक अन्योल र स्थानीय विवादबिच परियोजनालाई गति दिने विषयमा छलफल भइरहेको बताए ।
सडकको चौडाइबारे स्पष्ट पार्दै भने, ‘यो सडक बनाउने शैली दुई लेनको हो, तर चौडाइका हिसाबले करिब ४ लेन बराबरको हुनेछ । सामान्यतया २ लेनको सडक ७ मिटरको हुन्छ भने ४ लेनको सडक १४ मिटरको हुन्छ । यो सडक १२ मिटर चौडा हुनेछ । तर यसमा ४ लेनको सडकमा हुने जस्तो बिचमा डिभाइडर वा फूलबारी भने रहने छैन ।’
शर्माका अनुसार यो टेन्डर एक वर्ष अगाडि नै हुनुपर्ने भए पनि एमसीसी कार्यान्वयनमा देखिएको ढिलाइका कारण रोकिएको थियो । एमसीए–नेपालले १२ मिटरको बनाउने गरी ठेक्का दिएको उनको भनाइ छ ।
उनले भने, ‘हामी भोलिदेखि नै क्याम्प कहाँ राख्ने, पिच प्लान्ट कहाँ राख्ने भन्ने तयारीमा लाग्छौँ ’ उनले भने । पूर्ण रूपमा काम सुरु हुन (मोबिलाइजेसन) भने करिब एक महिना लाग्ने देखिएको छ । एमसीसीको मापदण्ड अनुसार गुणस्तरीय काम गर्नुपर्ने भएकाले तयारीमा केही बढी समय लाग्ने उनको भनाइ छ ।



लाइभदाङ । ७ पुष २०८२, सोमबार २१:५० बजे