
तुलसीपुर, ०६ पौष ।
दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरबृद्धिको काम सुरु भएको छ । एशियन विकास बैंक(एडीवी) लुम्बिनी प्रदेश सरकारको सह–वित्तिय साझेदारीमा उक्त सडक स्तरबृद्धि हुन लागेको हो ।
४४ करोड ८७ लाख लागतमा १५.५८ किलोमिटर सडक कालोपत्रे हुने भएको हो । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालित ग्रामिण सम्पर्क सुधार परियोजा अन्तर्गत उक्त सडक बिजौरी–बसदबारा–जमुनी–लक्ष्मीपुर–दक्षिण कुररिया–कञ्जवारहुँदै कोठरीसम्म निर्माण हुनेछ । सडकको एमसी–एएनएस विजी जेभि, काठमाडौंले निर्माणको जिम्मा पाएको छ । २०८१ फागुन २० गते सम्झौता गरेर काम सुरु गरिएको जेभिका प्रतिनिधि सिलन बरालले बताए ।
हाल पहिलो चरणमा सडक कटान–भराइ, ढलान, साइड–ड्रेनेज, कल्भर्ट सुधार, बेस/सब–बेस निर्माण लगायतका संरचनाको काम भइरहेको छ । उनका अनुसार आबश्यक कच्चा पदार्थको पनि समस्या छैन । स्थानीय सरकारसंग समन्वय गरेर कच्चा पदार्थमा सहज आपूर्ति गरिएको प्रतिनिधि बरालले बताए । उनका अनुसार सडकको गुणस्तर परीक्षण, भुक्तानी प्रक्रिया तथा सुपरभिजनको काम अन्तर्राष्ट्रिय मापदण्डअनुसार भइरहेको छ । सडकको चौडाई साढे ५ मिटर हुनेछ । अस्पाल्ट प्रबिधिबाट कालोपत्रे हुने बरालको भनाई छ । आबश्यक ठाउँमा नाली र वालको काम पनि हुनेछ ।



लाइभदाङ । ६ पुष २०८२, आईतवार १९:२२ बजे