तुलसीपुर उपमहानगर : कार्यालय सहयोगी र लेखापालको एउटै तलब

दीपक बोहरा
दाङ,४ माघ । दाङ तुलसीपुर उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत लेखापाल र कार्यालय सहयोगीको तलब समान रहेको छ । कार्यालय सहयोगी, बाल विकास शिक्षक र लेखापालहरुको तलब समान १५ हजार रहेको भन्दै लेखापालहरुले आपत्तिसमेत जनाएका छन् । लेखापालहरुले सरकारी अनुदानबाट मासिक १३ हजार पाँचसय पाउँदै आएका छन्, भने उपमहानगरपालिकाले चालुआर्थिक बर्षदेखि एक हजार पाँचसय थपेर १५ हजार पु¥याएको छ ।

त्यस्तै कार्यालय सहयोगी तथा बाल विकास शिक्षकहरुलाई संघीय सरकारले आठ हजार दिएको र उपमहानगरपालिकाले ७ हजार थपेर १५ हजार पु¥याएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए । विद्यालयका कार्यालय सहयोगी र आफूहरुलाई एउटै दाँजोमा राखेर तलब दिन थालेपछि नेपाल विद्यालय कर्मचारी परिषद दाङले आपत्ति जनाएको छ । मंगलबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई समेत ज्ञापन पत्र बुझाएका छ ।

उपमहानगरपालिकाले कार्यालय सहयोगीहरुलाई सात हजार थप्दा आफूहरुलाई एक हजार पाँच सय मात्रै थपेको भन्दै यसलाई बढाउनु पर्ने उनीहरुको माग थियो । परिषदका तुलसीपुर नगर अध्यक्ष मीना भण्डारीले आफूहरुलाई पनि सात हजार थपिदिनुपर्ने बताईन् ।‘हामीलाई तुलसीपुर उपमहानगरपालिकाले बिभेदपूर्ण दृष्टिकोणले हे¥यो’, उनले भनिन्‘आफ्नो माग बमोजिम तलब बृद्धि नभए एक हप्तामा उपमहानगरपालिकामा तालाबन्दी गर्छौ ।’


मावि कालाखोलाका लेखापाल मित्रलाल खनालका अनुसार दाङका अन्य पालिकाहरुले सातहजार थप गरेपनि तुलसीपुरले भने आफूहरुलाई विभेद गरेको बताए ।‘अन्य पालिकाहरुले केहीले नासु सरहको तलब सुविधा पनि दिएका छन्’, उनले भने‘केही पालिकाहरुले सात हजार तलब थप गरिदिएका छन्, तर, तुलसीपुरले यसमा केही चासो दिएन ।’

ज्ञापनपत्र बुझ्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकासंग बजेट नहुँदा समस्या भएको प्रतिक्रिया दिएका छन् । आईतबारको कार्यपालिकाको बैठकले लेखापालहरुको तलब बृद्धि गर्न विद्यालयलाई अनुरोध गर्ने निर्णय गरेको समेत उनले बताए ।‘बजेट जे छ, त्यही अनुसार काम गर्ने हो’,उनले भने‘ हामीले कार्यपालिकाको बैठकबाट विद्यालयले पनि दायित्व बोध गर्ने गरि विद्यालयलाई तलब थप गरिदिन आग्रह गर्ने निर्णय गरेको छ ।’ प्रमुख पाण्डेले लेखापालहरुलाई पटक–पटक तलब बृद्धि गर्ने आस्वासन भने दिदै आएका थिए ।

शिक्षा समितिले पठाउदा पनि सुनुवाई भएन
तुलसीपुर उपमहानगरपालिकाको शिक्षा समितिले लेखापालहरुको तलब ७ हजार बृद्धि गर्ने गरि कार्यपालिकामा सिफारिश गरेको थियो । त्यो कुरा पनि सुनुवाई नभएको उपमहानगरपालिकाका शिक्षा महाशाखा अधिकृत चक्र भण्डारीले बताए ।‘हामीले बृद्धि गर्नकालागि एक महिना अघि नै कार्यपालिकामा सिफारिश गरेका हौं’,उनले भने‘ तर, कार्यपालिकाले सुनुवाई गरेन ।’ अहिले तुलसीपुरका सामुदायिक विद्यालयमा १९ जना लेखापाल रहेका छन् ।