
दाङ,२३ भदौ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका दाङका व्यक्तिहरूको पहिचान खुलाउन र खोजी कार्यलाई सहज बनाउन परिवारका सदस्यहरूको डीएनए परीक्षणका लागि रगतको नमुना संकलन कार्य सुरु गरिएको छ ।
सोमबार मात्रै दाङका ३७ जना बेपत्ताका परिवारका सदस्यहरूबाट डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा। हेमबहादुर केसीका अनुसार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जना र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा २३ जना आफन्तहरूको रगतको नमुना संकलन गरिएको हो । रसुवा र नुवाकोटमा कामका सिलसिलामा पुगेका बेला बाढीमा परी सम्पर्कविहीन भएका आफ्ना नागरिकहरूको वास्तविक पहिचान सुनिश्चित गर्न प्रहरीले यो वैज्ञानिक प्रक्रिया अपनाएको हो ।
रसुवा र नुवाकोटमा कामका सिलसिलामा पुगेका दाङका ६० जना बाढीपछि सम्पर्कविहीन भएका थिए। तीमध्ये हालसम्म छ जना पुरुष परिवारको सम्पर्कमा आएका छन्। प्रहरीका अनुसार अझै ५४ जना सम्पर्कविहीन छन्, जसमा ४४ जना पुरुष र १० जना महिला रहेका छन्।



लाइभदाङ । २३ भाद्र २०८३, मंगलवार १३:१० बजे