वालवालिकाहरुलाई स्कुल ल्याउनु मात्रै समावेशी शिक्षा होइन : प्राध्यापक थापा

तुलसीपुर, ४ पुस ।
वालवालिकाहरुलाई स्कुलसम्म ल्याउनु मात्रै समावेशी शिक्षा होइन भन्दै काठमाडौं विश्वविद्यालयका प्राध्यापक आशिका थापाले अव वालवालिकाहरुको विशेष अवस्था छ तर समयमा पहिचान हुन सकेन भने त्यसमा समावेशी हुन नसक्ने वताइन ।

सामान्य वालवालिकामा हुनुपर्नेभन्दा फरक देखिन्छ वा फरक व्यवहार शैलि देखाउँछ भने त्यो विशेष अवस्था हो र त्यस्तो व्यक्तिलाई अरुको साहाराको आवश्यकता पर्छ उनिले भनिन ।

काठमाडौं विश्वविद्यालयको आयोजना तथा गोरखा मावि र गोरखा आवासीय विद्यालय तुलसीपुरको सहकार्यमा बुधबार तुलसीपुरमा आयोजना गरिएको ‘समावेशी शिक्षा नीतिदेखि कक्षासम्म’ विषयक बहस कार्यक्रममा उठेका प्रश्नहरुको जवाफमा उनिले समावेशी शिक्षा अपांगता भएकाहरुका लागि मात्रै हो भन्ने बुझाई भएकोले अहिले शिक्षक मात्र नभएर अभिभावकहरुलाई समेत यसका वारेमा जानकारी हुन आवश्यक भएको वताइन ।


त्यसैगरि उक्त वहस कार्याक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकूद महाशाखा प्रमुख चक्र भण्डारीले तुलसीपुरका विद्यालयमा समावेशी शिक्षाको उच्चतम अभ्यास गरिएको वताए । ‘अपांगता भएका कारण, गरिबीका कारण तथा अन्य कुनै पनि कारणले बालबालिका विद्यालय जान नसकेको अवस्था छैन । केही विद्यालयमा तत्कालका लागि समस्या देखिएको छ । त्यसको कारण तालिम लिएका शिक्षक सरुवा भएर अन्य विद्यालयमा गएका कारण समस्या देखिएको हो’– उनले भने– ‘उक्त विद्यालयको अन्य शिक्षक तयार भएमा तत्काल तालिम सञ्चालन गर्न सकिन्छ तर शिक्षक नै तयार हुनुहुन्न । समावेशी शिक्षा आफैमा वृहत् पक्ष हो । तुलसीपुरभित्र समावेशी शिक्षामा केही कुराहरुमा रुपान्तरण गर्नुपर्ने आवश्यकता छ तर त्यसका लागि सबैभन्दा पहिला प्रवृत्ति सुधारको आवश्यकता देखिन्छ ।’

बहसमा प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगी, गुरुजजुर मावि रक्षाचौरका प्रधानाध्यापक विष्णु कुमारी केसीलगायत वक्ताको रुपमा उपस्थित थिए । भने कार्यक्रममा गोरखा ग्रुपका सिइओ नवल जीएम, मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझा, महेन्द्र मावि तुलसीपुरका सहायक प्रधानाध्यापक पूर्णबहादुर डाँगी लगाएतकाले समावेशी शिक्षाका विषयमा प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ उपस्थित वक्ताहरुले दिएका थिए ।

उक्त कार्यक्रमको सहजीकरण काठमाडौं विश्वविद्यालयमा समावेशी शिक्षा अध्ययनरत गोरखा माविका व्यवस्थापन संकाय संयोजक डम्बरबहादुर डाँगीले गरेका थिए ।