रास्वपा उपसभापति वाग्लेसहितका केन्द्रीय नेता दाङ आउदै

दाङ, २५ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय उपसभापति स्वर्णिम वाग्ले दाङ आउनुहुने भएको छ । वाग्ले तुलसीपुर नगर कमिटीको प्रथम भेलालाई सम्बोधन गर्न दाङ आउन लाग्नुभएको हो ।

वाग्ले भोलि साँझ नै सुर्खेतबाट तुलसीपुर आइपुग्ने रास्वपा दाङका उपसभापति अर्जुन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार वाग्लेसहित अरू केन्द्रीय नेताहरू पनि दाङ आउने छन् ।

कार्यक्रममा प्रवक्ता मनिष झा, केन्द्रीय सचिवालय सदस्य गणेश पराजुली पनि आउने उहाँले बताउनुभयो । बिहिवार तुलसीपुरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा तुलसीपुर नगर भेलाको तयारीबारे जानकारी गराइएको हो । तुलसीपुर नगर भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । नगर भेला तुलसीपुरको बिएसएस पाटी प्यालेसमा हुने छ ।


नगर भेलाको मुल संयोजक तथा जिल्ला उपसभापति अर्जुन केसीको अध्यक्षता तथा रास्वपाको उत्पादन तथा प्रवद्र्धन विभाग केन्द्रीय उपप्रमुख हरि रिजालको प्रमुख आतिथ्यतामा पत्रकार भेटघाट कार्यक्रम भएको हो ।

केन्द्रिय निर्वाचन प्रतिनिधि प्युठानका नेता समेत रहेका रिजालले पुराना राजनैतिक दलबाट नागरिकमा वितृष्णा फैलिएपछि जनेजी आन्दोलन भएको बताउनुभयो । उहाँले पुराना राजनैतिक दल भ्रष्टाचारको केन्द्र बनेको स्पष्ट भइसकेको आरोप लगाउनुभयो ।

रास्वपाका दाङ जिल्ला प्रचार प्रसार विभाग संयोजक क्षेत्र खड्का भेलामा उपस्थितिका लागि आम नागरिकलाई आग्रह गर्नुभयो । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण रास्वपाका जिल्ला सदस्य बलिराम केसीले गर्नुभएको छ ।