दाङसहित देशका अधिकांश ठाउँमा ठुलो वर्षा

दाङ, २० साउन ।
दाङसहित देशका अधिकांश ठाउँमा ठुलो वर्षा भइरहेको छ । विषेशगरी दाङ, बाँके र बर्दियामा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेमा १६० मिलिमिटर, दाङमा १५६ मिलिमिटर र बर्दियामा १४३ मिलिमिटर पानी परेको छ ।

दाङको गंगदी, जलकुन्डी, बाँकेको कुसुम, सिक्टा आसपास, बाँकेको खजुरा र बेलभर आसपास तथा बर्दियाको बबई र मानपुर आसपासमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । मधेश र लुम्बिनी प्रदेशका केही स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।


आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी र मधेस प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।