
बर्दिया, २२ मंसिर ।
बर्दियाको राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत दाङ तुलसीपुर उपमहानगरपालिका–५ निवासी २७ वर्षीय निरज चौधरीको गोली प्रहार गरी हत्या गरिएको छ।
शुक्रवार बिहान अचेत अवस्थामा फेला परेका चौधरीलाई उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीका अनुसार चौधरीको गाला र दुवै कानमा गोली लागेको अवस्थामा शव भेटिएको र घटनास्थलबाट गोलीका खोका समेत बरामद गरिएको छ।
प्रहरीले प्रारम्भिक जानकारीका आधारमा उनलाई गोली हानेर मोटरसाइकलमा फरार भएका व्यक्तिको खोजी भइरहेको जनाएको छ। हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन।
निरजको शव पोष्टमार्टमका लागि नेपालगन्जमा राखिएको छ। पोष्टमार्टम रिर्पोटपछि घटनाबारे थप विवरण स्पष्ट हुने प्रहरीले जनाएको छ।
हत्या कसले र किन गरेको भन्ने यकिन नभएकाले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय राजापुरले घटनास्थलमै रहेर थप अनुसन्धान जारी राखेको छ।



लाइभदाङ । २३ मंसिर २०८२, सोमबार १३:४४ बजे