तुलसीपुर,२३ मंसिर । तुलसीपुर ९ बेलुवा स्थित सगरमाथा बालबाटिका स्कुलले महिनावारीका विषयमा सचेतना दिएको छ । अन्र्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा कक्षा ६ देखि १० कक्षासम्मका छात्राहरुलाई सचेतना प्रदान गरेको हो ।
त्यस अवसरमा छात्राहरुले महिनावारीका विषयमा जानकार भएपनि यसविषयमा आफूहरु खुल्न नसकेको बताए । महिनावारी भएको समयमा गरिने व्यवहार र दृष्टिकोण परिवर्तन हुन नसक्दा आफ्ना समस्याहरु व्यक्त लाज लाग्ने, असहजता हुने,दुविधा हुने गरेको उनीहरुको भनाई छ ।
विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरिएको भएपनि महिनावारीको समयमा ति प्याड प्रयोग गर्दैनन् । अत्यावश्यक भएपनि आफूहरुले खुलेर माग्न नसक्ने भएकाले घरबाटै जोहो गरेर विद्यालय आउने गरेको विद्यार्थीहरु बताउछन् । त्यस अवसरमा डा. शैलेस उपाध्यायले महिनावारी महिलाहरुमा हुने प्राकृति प्रकृया भएकाले यसबारे जानकार र सचेत हुन जरुरी रहेको बताए ।
उनले यो समयमा स्वास्थ्य सरसफाई,पोषण खानेकुरा, गुणस्तरीय प्याडको प्रयोग लगायतका बारेमा किशोरी/महिलाहरुले ध्यान दिनुपर्ने बताए । यसका साथै यो समयमा भेदभावरहित वातावरणको निर्माणगरी परिवारले महिनावारी भएका महिलाहरुको विशेष ख्याल गर्न जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले महिनावारीको समयमा हुने भेदभाव र विभेदजन्य व्यवहारको अन्त्य गर्न जरुरी रहेको बताइन् ।
त्यस अवसरमा तुलसीपुर ९ का वडाध्यक्ष घनश्याम ढकालले आगामी दिनमा महिनावारीलाई ध्यानमा राख्दै सेनेटरी प्याड र सचेतना अभिवृद्धिका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । विद्यालयका प्रिन्सिपल छविकुमार वलीले विद्यालयमा महिनावारी स्वाच्छता सामग्रीहरु राखिएको बताए । कार्यक्रममा स्वागत शिक्षिका रमा वली र सहजीकरण शिक्षिका पवित्रा विकले गरेकी थिइन् ।
लाइभदाङ । २३ मंसिर २०७९, शुक्रबार १९:४१ बजे