
दीपक बोहरा
दाङ, १४ मंसिर ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेको केही पंक्तिसंग पनि एकताको लागि छलफल भइरहेको बताएका छन् । पार्टीको शनिबार दाङको लमहीमा भएको लुम्बिनी प्रदेश स्तरीय एकता घोषणासभालाई सम्बोधन गर्दै उनले एमाले भित्रका क्रान्तिकारी देशभक्तहरु पंक्तिसंग छलफल भइरहेको बताए ।“एमाले भित्र पनि धेरै क्रान्तिकारी र देशभक्त पंक्ति छ”,उनले भने“ त्यहाँको नेतृत्व ठीक भहुनेहो भने, उहाँहरुलाई पनि एकतामा ल्याउन सकिन्छ, त्यहाँको पंक्तिलाई ल्याएर केही समयपछि बृहत एकता पनि गर्न सकिन्छ ।”
कम्युनिष्ट एकता मात्रै नभई राष्ट्रियता, संविधान, जनताको आकांक्षा पूरा गर्न काँग्रेससंग पनि मोर्चा बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको प्रचण्डको भनाई छ । साथै उनले जनार्दन शर्मा पनि केही समयमा एकतामै आउनु पर्ने बताए ।
साथै उनले सातवटै प्रदेशमा भइरहेको एकता सभा आत्मआलोचित हुने सभा पनि भएको बताएका छन् । उनले विगतमा गरेका कम्जोरीलाई सच्चाउँदै राष्ट्रियता, स्वाधिनता, जनताको स्वतन्त्रताको पक्षमा अझ दृढ भएर लाग्ने प्रतिबद्धतासहितको सभा भएको बताए । “विकास निर्माणमा कहाँ चुक्यौ । जनताका हरेक समस्या समाधान गर्न हामी कहाँ चुक्यौं”,उनले भने “यस्ता कुराहरुको कमजोरी खोतल्ने,सच्चाउने र आत्म आलोचना गर्नेसभा पनि हो ।”
अहिले मुलुकका १५ वटा कम्युनिष्ट पार्टीहरुबीच एकता गरेर विगतका कम्जोरीहरुलाई स्वीकार गर्दै जनताको सेवामा अझ प्रतिबद्ध भएर लाग्ने संकल्प सभाका रुपमा यो सभालाई लिएको उनको भनाई थियो । संयोजक प्रचण्डले विगतका कमजोरी दोहोरिन नदिने तथा उत्पिडित समुदायसंग सम्बन्धलाई दाह्रो बनाएर उनीहरुको हक अधिकारकालागि अर्को लडाई लड्ने एकता पनि रहेको बताए ।
यो एकता चुनाब जित्नकालागि नभई राष्ट्रको रक्षा, जनताको स्वतन्त्रता, विदेशी हस्तक्षेप अन्त्य गर्नकालागि एकता भएको समेत उनको भनाई थियो । मुलुकमा दुइ तिहाइको एमाले र काँग्रेसको सरकार हुँदा पनि जनताको साथ विना त्यसले राष्ट्रियताको सुरक्षा गर्न नसक्ने भन्दै जनतासंग जोडिनु पर्ने उनको भनाई थियो । “अहिले जस्तो संकट देशमा कहिल्यै थिएन । यो एकता चुनाब जित्नकालािग मात्रै गरिएको एकता होईन्”,उनले भने “ भदौ २४ गतेको विध्वंस हामीले देख्यौं, सार्वभौम सत्ताका नागरिक यति कम्जोर, राज्य संयन्त्र यति कम्जोर भएको हो ? ति सबै विध्वंस जोगाउन नसक्ने अबस्था राज्य रहेको हो ? यो निकै असाधारण परिस्थिति हो । यसबाट सिकेर हामी आफै बदलिएर जनताका निम्ति जस्तो सुकै बलिदानी गर्न संकलल्न लिएर अगाडी आएका हौं ।”
सभालाई सहसंयोजक माधव कुमार नेपाल, नेता बामदेव गौतम, भिम रावल, बर्षमान पुन, रेखा शर्मा, चिरण पुनलगायतले सम्बोधन गरेका थिए ।



लाइभदाङ । १५ मंसिर २०८२, आईतवार ०९:१६ बजे