
आलोक भावुक
गढवा, १३ मंसिर ।
अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवा–३ को आठौं वार्षिक साधारण सभा शनिबार गढवा–३ गोबरडिहामा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष कुलराज कुमालको अध्यक्षता र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
प्रमुख अतिथि यादवले सहकारीले अब उत्पादनमुखी क्षेत्रमा पुँजी परिचालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सहकारीको लगानी सुरक्षित रहन, जोखिम न्यून हुन र आय–आर्जनमा टेवा पुग्न उत्पादनमुखी लगानी नै सर्वोत्तम विकल्प भएको बताउनुभयो। उहाँका अनुसार ऋणी सदस्यहरूले ऋण लिएर केवल उपभोगका लागि प्रयोग नगरी व्यवसाय, उद्यम तथा उत्पादनमा लगानी गरे मात्र सहकारीको वास्तविक उपलब्धि देखापर्ने र सहकारी क्षेत्र सुदृढ बन्दै जानेछ।
साधारण सभामा सहकारीका अध्यक्ष कुलराज कुमालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले पछिल्लो वर्ष उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे विस्तृत जानकारी दिनुभयो। उहाँले आगामी वर्षमा उत्पादनमुखी ऋण प्रवाहलाई प्रभावकारी बनाउने, डिजिटल प्रणाली थप विस्तार गर्ने, जोखिम व्यवस्थापनलाई कडाइका साथ लागू गर्ने तथा सदस्य अभिमुखीकरण र वित्तीय साक्षरता कार्यक्रमलाई प्राथमिकता दिने नीतिगत योजना सार्वजनिक गर्नुभयो।
आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन व्यवस्थापक सहायक शिवा केसीले प्रस्तुत गर्नुभयो भने आन्तरिक लेखा परीक्षण समितिका संयोजक दीपक कुमार चौधरीले २२ करोड १५ लाख ५१ हजार ७ सय ८१ रुपैयाँ बराबरको आय–व्यय प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको वित्तीय स्थिति सुदृढ हुँदै गएको जानकारी दिनुभयो।
साधारण सभाको अवसरमा सहकारीले पत्रकार सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो। समुदायसेवा, सामाजिक उत्तरदायित्व, मानवीय भावना र सकारात्मक नेतृत्वमार्फत समाजमा प्रेरणादायी भूमिका निर्वाह गरेको कदरस्वरूप गढवा गाउँपालिका प्रेस संयोजक तथा नेपाल रेडक्रस उपशाखा गढवाका सचिव आलोक भावुक, युगबोध राष्ट्रिय दैनिकका संवाददाता शिवराज पन्थी र रेडियो साझा आवाजका स्टेशन म्यानेजर दुखहरण यादवलाई विशेष सम्मानपत्र प्रदान गरिएको थियो।
“सहकार्य हाम्रो संस्कार, उन्नति र विकास हाम्रो अधिकार” भन्ने मूल नारासहित आदर्श रात्री आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित साधारण सभा उपाध्यक्ष देवकिशोर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रमको सहजीकरण सहकारीका शेरर सदस्य भगवती चौधरीले गर्नुभएको थियो।



लाइभदाङ । १४ मंसिर २०८२, शनिबार २१:०६ बजे