आरम्भ चौतारी लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

दाङ, १२ मंसिर ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय हेकुलीद्वारा बिहीबार एक दिने केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरिएको छ। शाखाअन्तर्गत रहेका ७७ केन्द्रका करिब ८०० सदस्यमध्ये ७० जना केन्द्र प्रमुख तथा उपप्रमुखले प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए।

गोष्ठीले नेतृत्व क्षमता अभिवृद्धि, जिम्मेवारीबोध तथा केन्द्रलाई सामाजिक परिवर्तनको माध्यमका रूपमा विकसित गर्ने उद्देश्य राखेको शाखाले जनाएको छ। कार्यक्रममा १२ जनाले राखेका गुनासा तथा जिज्ञासाको उत्तर सहायक प्रबन्धक महेन्द्र आचार्य र स्टेशन म्यानेजर गीता राउतले दिएका थिए।

दङ्गीशरण गाउँपालिकाका अध्यक्ष सम्भु गिरीले सदस्यहरूको आयस्तर वृद्धि तथा क्षमता विकासमा कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सिकेका कुरालाई व्यवहारमा लागू गर्न सुझाव दिए। सोही अवसरमा वडा नम्बर ३ का अध्यक्ष सुकलाल चौधरीले पनि आफ्नो भनाइ राखेका थिए।


गोष्ठीमा अतिथिका रूपमा सहभागी जे.टी.ए. योगमाया कुवरले संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रमको प्रशंसा गर्दै लघुवित्तबारे भइरहेका अनावश्यक टिप्पणीप्रति सचेत रहन सहभागीहरूलाई आग्रह गरेकी थिइन्।

कार्यक्रमकै क्रममा केन्द्र नम्बर ०५२ की सदस्य गोमा नेपालीका दिवंगत श्रीमान् जुद्ध बहादुर नेपालीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत बिमा वापतको ६० हजार रुपैयाँको चेक प्रमुख अतिथिद्वारा हस्तान्तरण गरिएको थियो।

गोष्ठी आरम्भ चौतारी लघुवित्त केन्द्रीय कार्यालयका सहायक प्रबन्धक महेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य गीता राउतले राखेकी थिइन् भने सञ्चालन शाखा प्रमुख रमा पाठकले गरेका थिए।