
तुलबहादुर कवँर मगर
सिसहनियाँ,९ मंसिर ।
दाङको राप्ती गाउँपालिका–८ पिपरीका महिला उद्यमीलाई लक्षित गर्दै १० दिने कपडामा प्रिन्ट गर्ने सीप विकास तालिम मंगलबारदेखि सुरु गरिएको छ। ‘गणस्तरीय उत्पादनदेखि आर्थिक आत्मनिर्भरता’ कार्यक्रमअन्तर्गत राप्ती महिला गार्मेन्ट उद्योगमा आवद्ध महिलाहरूलाई व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
तालिम उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले महिलाद्वारा सञ्चालित गार्मेन्ट उद्योग पालिकाभित्र उदाहरणीय उद्यमका रूपमा स्थापित हुन सफल भएको बताउनुभयो। उहाँले गार्मेन्ट उद्योगलाई दीगो रूपमा अघि बढाउन स्थानीय सरकारले विभिन्न सहयोग गर्दै आएको जानकारी समेत दिनुभयो।
साथै वडा नं. १ मा महिलाहरूले सञ्चालन गर्दै आएको हाते तान उद्योग र गार्मेन्ट उद्योगबीच आपसी सहकार्य गरी उत्पादनको बजारीकरणमा थप जोड दिनुपर्ने बताउनुभयो। सामूहिक रूपमा सञ्चालन गरिएको गार्मेन्ट उद्योगले बेरोजगार गृहणी महिलाहरूलाई उद्यमीका रूपमा स्थापित गरेको प्रति उहाँले खुसी व्यक्त गर्नुभयो।
राप्ती महिला गार्मेन्टकी उपाध्यक्ष उत्तम चौधरीले पछिल्लो चरणमा उद्योगले उल्लेखनीय आम्दानी गरिरहेको जानकारी दिनुभयो।उहाँले कपडामा प्रिन्ट गर्ने सीप विकास भएसँगै गार्मेन्ट उद्योगको व्यवसायिक क्षेत्र समेत थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम वडा नं.८ का कार्यवाहक वडाध्यक्ष सुन्दर बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मेनुका शर्मा, प्रशिक्षक अनिल नाथ योगी लगायत उद्यमी महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण उद्यम विकास शाखा प्रमुख बिनिता चौधरीले गर्नुभएको थियो।



लाइभदाङ । १० मंसिर २०८२, मंगलवार २०:३१ बजे