मसोटको वर्सेवा घाटमा झोलुंगे पुल निर्माण

दाङ
४ माघ / मसोट खोला स्थित वर्सेवा घाटमा निर्माण भएको झोलुंगे पुलको सोमवार उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले पुलको उद्घाटन गरेका हुन् । पुल उद्घाटन कार्यक्रममा बोल्दै उनले गाउँ र शहरलाई जोड्ने भएकाले सुविधा उपभोगमा सहज हुने बताए ।

निश्चय पनि यहाँको समस्याहरू केही हद सम्म कम गर्न यो पुलले मद्दत गर्ने छ,‘ उनले भने,‘ वर्षामा भोग्नुपर्ने समस्याहरू यो पुलले पक्कै पनि कम गर्ने छ ।’ उपभोक्ता समितिका अध्यक्ष अमित बुढामगरको अध्यक्षता तथा प्रदेश सभा सदस्य शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई घोराही उपमहानगरपालिका ३ का वडाध्यक्ष माधव चौधरीले सम्बोधन गर्दै वडा कार्यालय र उपमहानगरपालिकाबाट मसोट क्षेत्रको विकासको लागी ध्यान दिइएको बताए ।

त्यस्तै कार्यक्रममा नेकपा एमाले क्षेत्र नं। १ का इन्चार्ज नारायण डिसी छम्पालीले विकास नपुगेका खोला तथा नाका क्षेत्रमा प्राथमिकताका साथ योजनाहरू परेको र कार्यान्वयन गरिएको बताए । त्यस्तै सेवा प्रतिष्ठान नेपाल केन्द्रिय कार्यालय दाङका प्राविधिक दिपेश गौतमले चालु आर्थिक वर्षमा जिल्लाका १० स्थानीय तहमा १५ वटा झोलुंगे पुल निर्माण कार्य भइरहेको जानकारी दिए ।


स्थानीय सरकार, दातृ निकाय तथा सेवा प्रतिष्ठान नेपालको साझेदारीमा झोलुंगे पुल निर्माण भैरहेको समेत उनले बताए । राप्ती गाउँपालिका, दंगिशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकामा एक र एक वटा झोलुंगे पुल बन्दै छन् । गढवा गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका, बङ्गलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकामा २/२ वटा झोलुंगे पुल निर्माण भैरहेका छन् ।

प्रतिष्ठानले दाङ लगायत पहाडी जिल्ला पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा , प्युठानमा सयौँको सङ्ख्यामा झोलुंगे पुल निर्माण गरिसकेको जनाएको छ । त्यस्तै सेवा प्रतिष्ठानले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि समेत काम गरेको प्रतिष्ठानका कार्यक्रम संयोजक प्रकाश केसी बताए ।