
तुल बहादुर कवँर मगर
मसुरीया, ६ बैशाख।
दाङको राप्ती गाउँपालिका वडा नं. ३ मा मंगलबार वडा स्तरीय बाल पोषण प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। खुरुरिया आधारभूत स्वास्थ्य सेवा केन्द्र अन्तर्गत मसुरीया सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा सो प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा स्वास्थ्य संस्था तथा गाउँघर क्लिनिकमार्फत हरेक महिना बच्चाको नाप लिएको वा नलिएको, बच्चाको उमेर र उचाइअनुसारको तौलको अवस्था, पूर्ण खोप लगाइएको वा नलगाइएको जस्ता सूचकहरूका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट बालबालिका छनोट गरिएको थियो।
प्रतियोगितामा शुस्मिता चौधरीकी छोरी श्रेया चौधरी प्रथम, पार्वता आचार्यका छोरा मनोहर आचार्य द्वितीय र मन कुमारी चौधरीका छोरा सुमिर चौधरी तृतीय भएका छन्। उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने बालबालिकालाई क्रमशः ८ सय, ७ सय र ६ सय रुपैयाँसहित सम्मान गरिएको थियो।
स्वास्थ्य अधिकृत भारती सन्यासीको संयोजकत्वमा सचिव शेरबहादुर हमाल र ‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’की फिल्ड सहायक नितु चौधरीसहितको मूल्याङ्कन समिति गठन गरी मूल्याङ्कन गरिएको थियो।
राप्ती गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष उमेश अधिकारीको अध्यक्षता तथा स्वास्थ्य शाखा प्रमुख नारायण राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य चम्फा भुसाल, स्वास्थ्यकर्मी, बालबालिका र अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण खुरुरिया आधारभूत स्वास्थ्य सेवा केन्द्रकी प्रमुख सिनियर अहेब अधिकृत कमला न्यौपानेले गर्नुभएको थियो।



लाइभदाङ । ७ जेष्ठ २०८२, मंगलवार २२:४३ बजे