
दाङको घोराही–तुलसीपुर चारलेनको काम भइरहेको छ । पहिलो चरणमा गुर्जेखोलादेखि काम सुरु भएको छ । घोराही क्षेत्रको रतनपुर क्षेत्रमा जग्गा विवाद भएकाले अहिले विवाद नभएको क्षेत्र गुर्जेखोलादेखि काम शुरु भइरहेको छ । पहिलो चरणमा झाडी सफा गर्ने र माटो फिलिङ्ग गर्ने कार्य हुदैछ। त्यो कार्य हापुरखोलासम्म मात्रै हुनेछ । तीन बर्षको सम्झौता भएकाले अहिले नै तुलसीपुरसम्म माटो फिलिङ्ग गर्दा फेरी पनि झार उम्रिन सक्ने भएकाले हापुरखोलासम्म मात्रै माटो फिलिङ गर्ने र झार फाल्ने गरि निर्मान कम्पनीले तयारी गरेको छ । ५ वटा जेसीवी लगाएर काम भइरहेकोमा अब केही जेसीवी थप गरेर काम अगाडी बढाउने तयारी छ ।
यो सडक विगतदेखि नै अलपत्र अवस्थामा छोडिएको सडक हो । निकै ब्यस्त हुने जिल्लाको यो सडक निर्माण अलपत्र हुँदा दिनानुदिन दुर्घटना भइरहेका छन् । आवतजावतमा निकै समस्या हुने गरेको छ । चारलेन बनाउनकालागि बिगतमा भारतको एक्जिम बैंकले ऋण लगानी गरेको थियो । ठेक्का पनि गएको थियो । भारतीय ठेकेदारले नै ठेक्का पाएका थिए । ति ठेकेदारले सडक अलपत्र पार्दा त्यो ठेक्का तोड्न पनि निकै कठीन अवस्था थियो । नेपाल सरकारको पहुँच भन्दा पनि बाहिर थियो । तर, अहिले नेपाली ठेकेदारले नै ठेक्का पाएकाले विगतजस्तो लापरवाही नहोला भन्ने आम अपेक्षा रहेको छ ।
ठेकेदार कम्पनीले सुरु–सुरुमा कामले गति लिएको जस्तो देखाउने र बीचमा विभिन्न बाहानामा छोड्ने गरेका उदाहरणहरु पनि थुप्रै छन् । जुन सुकै विकास निर्माणका क्रममा पनि विद्युतको पोल नसारेको बाहाना, जग्गा विवादको बाहाना, कच्चा पदार्थ नपाईएको बाहाना गर्दै बीचमै काम छोड्ने प्रवृति पनि बढिरहेको छ । काम सुरु गर्ने र भुक्तानी लिइहाल्ने त्यसपछि बीचमै काम छोड्ने प्रवृति रोक्न स्थानीय पनि चनाखो हुनुपर्छ । विद्युतको पोल सार्न, विवाद मिलाउन तथा कच्चा पदार्थ उपलब्ध गराउन पनि सहजीकरणको भूमिका निर्वाह गर्नुपर्छ, भने ठेकेदार कम्पनीलाई पनि रचनात्मक रुपमा अन्य सहयोग गर्नुपर्छ । र गुण्स्तरको कुरामा नियमित रुपमा झक्झक्याइरहनु पर्छ । किनकी यो सडक दाङको ‘लाइफ लाइन’ सडक हो । सानो त्रुटीले मात्रै पनि भविष्यमा दुःख पाइन सक्छ । यस तर्फ सबै चनाखो हुन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । १० मंसिर २०८२, मंगलवार ०८:२६ बजे