
आलोक भावुक
गढवा, ९ मंसिर । बाल संरक्षण र लैंगिक हिंसामा परेकालाई समयमै सेवा तथा सहायता पुर्याउनका लागि आवश्यक सेवा नक्सांकन तथा सिफारिस संयन्त्र कार्यान्वयन सम्बन्धी कार्यक्रम सोमबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य बालबालिका, महिला तथा किशोरीहरू लैंगिक हिंसा, दुव्र्यवहार, उद्धार तथा संरक्षण आवश्यक पर्ने अवस्थामा कुन–कुन सेवामा कसरी पहुँच पुर्याउने भन्ने विषयमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, समाजसेवी तथा सरोकारवालालाई थप स्पष्ट मार्गचित्र तयार गर्नु रहेको थियो।
कार्यक्रम सामाजिक विकास समितिका संयोजक लेखबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। संयोजक थापाले स्थानीय तहले बाल अधिकार र महिला सुरक्षालाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिरहेको बताउँदै “पीडितलाई तत्काल सेवा–सुविधा उपलब्ध गराउने संयन्त्रलाई अझ छरितो र प्रभावकारी बनाउने” प्रतिवद्धता व्यक्त गर्नु भयो।
कार्यक्रमका दौरान बाल संरक्षण प्रणाली, स्थानीय तहको भूमिका, हिंसा पीडितलाई आवश्यक पर्ने आपतकालीन सेवा, सेवा नक्सांकन प्रक्रियाको महत्त्व, सिफारिस संयन्त्र कसरी सक्रिय बनाउने तथा अन्तर–संस्थागत समन्वयका पक्षहरूबारे विस्तृत प्राविधिक प्रस्तुतीकरण गरिएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले बालबालिका तथा महिलामाथि हुने हिंसाको स्वरूप बदलिँदै गएको उल्लेख गर्दै सुरक्षाकर्मी, शिक्षक, स्वास्थ्यकर्मी, न्यायिक समिति तथा स्थानीय प्रतिनिधिहरू सबैको सहकार्य बिना प्रभावकारी संरक्षण सम्भव नहुनेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा कार्यापालिका सदस्य,महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा, न्यायिक समिति, शिक्षा शाखा, पंजीकरण शाखा, स्वास्थ्य शाखा प्रमुख, लगायतको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमले बाल संरक्षण तथा लैंगिक हिंसा पीडितहरूले तत्काल पाउनुपर्ने सेवा–सुविधाहरूलाई व्यवस्थित, पहुँचयोग्य र दिगो बनाउने मार्गचित्र तयार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।



लाइभदाङ । १० मंसिर २०८२, मंगलवार ०६:५५ बजे