रोकिराखेको ट्याक्टरमा अटोरिक्सा ठोक्कियो, मेलमिलापकर्ताको मृत्यु

दाङ
३० पुस / दाङमा सवारी दुर्घटना हुँदा मेलमिलापकर्ताको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार रोकिराखेको ट्याक्टरमा अटो ठोक्किदा अटोमा सवार दंगीशरण गाउँपालिका वडा नं. ४ निवासी ५० बर्षीय दीपक बुढाथोकीको मृत्यु भएको हो ।

तुलसीपुरबाट हेकुली तर्फ जादै गरेको रा १ ह २९६६ नम्बरको अटो रोकिराखेको रा १ त २८२२ नम्बरको ट्रयाक्टरसंग हेकुली चोकमा ठोक्किदा गम्भीर घाईते भएका बुढाथोकीको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बुढाथोकी मेलमिलाप केन्द्र हेकुलीका मेलमिलापकर्ता हुन् । विहीबार राति ८ बजेतिर दुर्घटना हुँदा अटो चालक दंगीशरण ३ हेकुली बस्ने २७ बर्षीय मनीष चौधरी घाइते भएका छन् ।


उनको कोहलपुरमा उपचार भइरहेको छ । चौधरीको टाउको,मुख,बायाँ हातमा गहिरो चोट लागेको छ । प्रहरीले अटो र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक फरार रहेका छन् ।