बाणगङ्गा नदीमा हामफालेर एक व्यवसायी बेपत्ता

रुपन्देही, ०९ असोज ।
कपिलवस्तुको बाणगङ्गा नदीमा एक व्यवसायीले हाम फालेर बेपत्ता भएका छन् । बाणगंगा नगरपालिका १ बुङचीस्थित बाणगङ्गा नदीमा हामफालेका बाणगङ्गा नगरपालिका वडा नं ८ मधुवनका अन्दाजी ५४ वर्षीय नारायण बेल्वासेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

उनी आज दिउँसो बुड्ची र बोडगाउँको सिमाना जोड्ने बाणगङ्गा नदीको पक्की पुलको उत्तरी किनारबाट हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा १५ जनाको टोली उद्धार सामग्रीसहित घटनास्थल पुगेको थियो । खोजीका क्रममा नदी किनारबाट पुरुषले लगाउने कपडा तथा चप्पल फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले बताए ।


उनका अनुसार बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पिपराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीको कमान्डमा ११ जना तथा नेपाल प्रहरीको थप टोलीसमेत परिचालन गरिएको छ ।

प्रहरीले नदीमा राती अबेरसम्म खोजी कार्य जारी राखेपनि केही पत्ता लागेको छैन । स्थानीयका अनुसार कुखरा फारम गर्दै आएका उनको कारोबार बिग्रेकाले तनाबमा थिए र मदिरा सेवन गरेर हिंडन थालेका थिए ।

वाणगंगा ८ का वडा सदस्य शैलेन्द्र बेल्वासेले उनी ठूलो व्यवसाय नगर्ने तर कुखुरा फाराम गरेपनि अहिले छाडेर बसेको बताए । ‘ठूलो व्यवसायी होइन तर अलिकति कारोबार बिग्रेको कुरा सुनेका छौँ, नदी किनारमा कपडाहरु खोलेर हाम फालेको स्थानीयले देखेपछि मलाई फोन आएर पुगेको थिएँ, तत्काल प्रहरीलाई सूचना गरेपछि आइहालेको हो टोली । बगेको स्थानीयले देखेको रहेछन् भिडियो पनि हेरियो । परिवारले कपडा देखेपछि पत्ता लागेको हो तर अवस्था केही पत्ता लागेन, नदी ठूलो भएकाले ।’ उनले भने ।