लुम्बिनी र गण्डकीमा अत्यधिक वर्षा, कुन क्षेत्रमा कति पानी पर्‍यो ?

दाङ, ०९ असोज ।
पछिल्लो २४ घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा अत्यधिकदेखि भारी वर्षा भएको छ। नेपाल मौसम विज्ञान विभागका स्वचालित वर्षा मापन केन्द्रको रेकर्डअनुसार बिहीबार साँझदेखि शुक्रबार साँझसम्म पाल्पाको अर्चलेमा २६७।४ मिलिमिटर वर्षा मापन भएको छ।

२४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षालाई अत्यधिक वर्षा मानिन्छ। यस आधारमा पाल्पाको अर्चलेमा अत्यधिक वर्षा भएको देखिन्छ। त्यस्तै, १०० मिलिमिटरभन्दा बढी वर्षा भएका धेरै केन्द्र छन्।

विभागको रेकर्डअनुसार नवलपरासी पूर्वको गैँडाकोटमा १८३.२ मिलिमिटर, पर्वतको पञ्चासेमा १६७.८ मिलिमिटर, बाँकेको बैज्यपुरमा १६७.२ मिलिमिटर र पाल्पाको कुमालगाउँमा १५५ मिलिमिटर वर्षा भएको छ।


त्यस्तै अर्घाखाँचीमा १९३.८ मिलिमिटर, सिमलपानीमा १४८.४ मिलिमिटर, स्याङ्जाको पञ्जमुलमा १४८.२ मिलिमिटर, पर्वतको कार्किनेटामा १४४ मिलिमिटर, बाँकेको ढकेरीमा १४६.४ मिलिमिटर तथा बर्दियाको बेलभरमा १४२.२ मिलिमिटर वर्षा भएको छ। तनहुँको अत्रौलीटारमा १६४.४ मिलिमिटर वर्षा मापन भएको विभागको तथ्यांक छ।

यसरी हेर्दा गण्डकी र लुम्बिनीका पहाडी तथा तराईका केही क्षेत्रमा २४ घण्टामै १४० मिलिमिटरभन्दा बढी पानी परेको छ। विभागको वर्षा निगरानी प्रणालीमा २४ घण्टामा १४० मिलिमिटर वर्षालाई सम्भावित पहिरो तथा स्थानीय क्षेत्रमा उच्च बहावको जोखिमसँग जोडिएको चेतावनी तहमा राखिएको छ।

मौसम पूर्वानुमानअनुसार शनिबार पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना कायमै छ। पछिल्लो मौसमी प्रणालीको प्रभाव विशेषगरी बागमतीभन्दा पश्चिमका क्षेत्रमा बढी रहने अनुमान गरिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।