अस्तित्व संकटमा परेका नेताहरूले एकता गरे : प्रदीप ज्ञवाली

दाङ, २७ कात्तिक ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिस्ट पार्टीको एकता अस्तित्व संकटमा परेका नेताहरूको व्यवस्थापन मात्रै भएको बताएका छन् । प्रेस चौतारी दाङले बिहीबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उनले सबै नेताहरूको अस्तित्व संकटमा परेपछि त्यसको व्यवस्थापनका लागि एकता गरेको बताए । ‘प्रचण्डलाई पार्टीभित्रैबाट नेतृत्व छोड्न दबाब थियो, माओवादी नामलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने थियो,’ उनले भने, ‘माधव नेपालहरूको पनि अस्तित्व सकिँदै जान थालेको थियो, त्यसैले अस्तित्व संकट व्यवस्थापन गर्न यो एकता भएको हो ।’

उनले विचार मिल्नेहरू एक ठाउँमा हुनु राम्रो भए पनि कुण्ठा बोकेर गरिएको एकताले परिणाम नदिनेसमेत आरोप लगाए । एकताको कार्यक्रममा समेत अर्को पार्टीका नेतालाई सत्तोसराप गरेर समय खर्च गर्ने कुराले कस्तो पार्टी बन्दै छ भन्ने कुराको निर्क्योल गर्ने उनको भनाइ थियो ।

साथै उनले संसद् पुनर्स्थापना, संविधान संशोधन, जेन–जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप रहेकोसमेत बताए । २१ फागुनमै चुनाव भए पनि शाहीकालमा भएको स्थानीय सरकारजस्तै हुनेसमेत बताए । सरकारमा बस्नेहरूले नै निर्वाचन बनाउने संकेत नदेखाएको उनको भनाइ छ । आफ्ना विचार, घोषणापत्र जनतामा राख्न पाउने वातावरणसमेत नभएको भन्दै यो निर्वाचन हुन नसक्ने उनले बताए ।


‘देशको प्रधानमन्त्री भन्नुहुन्छ, म केपी ओलीको मुख हेर्न चाहन्न, शेरबहादुर देउवाको मुख हेर्न चाहन्न, प्रचण्डको मुख हेर्न चाहन्न,’ उनले भने, ‘देशको प्रधानमन्त्रीले त्यस्तो भन्न मिल्छ रु, यस्तो वेलामा सबैलाई समेटेर लिएर जानुपर्नेमा यस्तो भन्नेले कसरी चुनाव गराउँछन् ।’ दलहरूले शान्तिपूर्ण र्‍याली गर्दा रोक लगाउने गरेको भन्दै चुनाव बनाउने सरकारको समेत लक्षण नभएको उनको भनाइ थियो ।

त्यस्तै, उनले जेन–जी आन्दोलनका क्रममा सुरक्षा निकायले पनि फितलो सूचना दिँदा यो अवस्था आएको बताएका छन् । पाँच–सात हजार मात्रै विद्यार्थी माइतीघरमा आउँछन् भन्ने मात्रै सूचना हुँदा सुरक्षा तैनाथी कम भएको उनको भनाइ थियो ।