शान्ति पुनर्स्थापना गृह कोइलाबासको वार्षिक सामाजिक लेखा परीक्षण सम्पन्न

आलोक भावुक

गढवा, १९ कार्तिक । शान्ति पुनर्स्थापना गृह कोइलाबास, दाङको आर्थिक वर्ष २०८१/०८२ का गतिविधिहरू समेटिएको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम मंगलबार गढवामा सम्पन्न भएको छ।

मानव बेचबिखनविरुद्ध क्रियाशील सामाजिक संस्था शान्ति पुनर्स्थापना गृहका केन्द्रीय सल्लाहकार युवराज खरेलको अध्यक्षतामा तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शान्ति पुनर्स्थापना गृहले कोइलाबासमा कार्यालय स्थापना गरी मानव बेचबिखनविरुद्ध प्रभावकारी रूपमा अभियान सञ्चालन गरेको बताउनुभयो।

उहांले “संस्थाले बेचबिखनमा परेका वा जोखिममा रहेका महिला, युवती र बालबालिकाको उद्धार, पुनर्स्थापना तथा परामर्श प्रदान गर्दै उदाहरणीय कार्य गरेको छ,” भन्नुभयो।

त्यसैगरी, कार्यक्रममा बोल्दै उपाध्यक्ष शारदा कुमारी चौधरीले कोइलाबास संवेदनशील सिमानाका क्षेत्र भएकाले यस्तो कार्यमा स्थानीय सरकार, सुरक्षा निकाय र अन्य सरोकारवालाबीचको साझा सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहांले हाल कर्मचारी अभाव देखिएपछि गाउँपालिकाले बजेट विनियोजनमार्फत सहयोग गरेको जानकारी दिँदै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

सन् १९९४ (२०५० माघ ४ गते) मा ललितपुरमा दर्ता भएको शान्ति पुनर्स्थापना गृहको केन्द्रीय कार्यालय गोदावरी नगरपालिका, ठेचो (ललितपुर) मा रहेको छ। मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियानमा सक्रिय यस संस्था समाजकल्याण परिषदमा आबद्ध गैरसरकारी संस्था हो।

कार्यक्रममा सल्लाहकार युवराज खरेलले “मानव बेचबिखन र ओसारपसारजस्तो जघन्य अपराधविरुद्ध खडा भई महिला तथा बालबालिकालाई सचेत बनाउने, जोखिममा परेकाको उद्धार गर्ने र अपराधीलाई नियन्त्रणमा ल्याउन सहयोग पुर्‍याउने हाम्रो प्रमुख उद्देश्य हो,” भनेर संस्थाको भूमिकाबारे प्रकाश पार्नुभयो।


शान्तिपूर्ण स्थापना गृह कोईलाबासकी प्रमुख (परामर्शदाता) सीमा जिसीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल ३० जना महिला, किशोरी र बालबालिकाको उद्धार गरी पारिवारिक पुनर्मिलन गरिएको छ।

त्यसैगरी ८७९ जनालाई मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सूचना र परामर्श सेवा प्रदान गरिएको थियो। एकजनालाई भारतबाट उद्धार गरी स्वदेश फिर्ता ल्याइएको र एकजनाको पुनर्मिलनका लागि अन्य संस्थामा पठाइएको उल्लेख गरिएको छ।

उद्धार भएका व्यक्तिहरूमध्ये दाङ (कोइलाबास) का २०, कपिलवस्तुका १, नवलपरासीका १, संखुवासभाका १, प्युठानका २, सुर्खेतका १, भारतको सिद्धार्थनगरका १ र बलरामपुरका ३ जना रहेका छन्।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कार्यालयले रु. ८ लाख १८ हजार २५३ खर्च गरेको र उक्त खर्च दातृ निकायको अनुदान र गढवा गाउँपालिकाको अनुदान सहयोगबाट सञ्चालित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। जसमा कर्मचारी तलब सञ्चार यातायात सेवाग्राहीको खाना खर्च सशस्त्रमुलक कार्यक्रम सञ्चालन तथा कार्यालय सञ्चालन खर्च समावेश रहेकाछन्।

प्रतिवेदनले मानव बेचबिखन नियन्त्रणका क्रममा सीमापार गराउन आफ्नै अभिभावकको संलग्नता, बुर्का लगाएर बोर्डर पार हुने प्रचलन, समुदायमा पितृसत्तात्मक सोच, झुटा नाता देखाई भारत जान खोज्ने प्रवृत्ति लगायतका चुनौतीहरू रहेको प्रतिवेदनमा औंल्याएको छ।

वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रमको अवसरमा पुनर्स्थापना गृहलाई आर्थिक भौतिक नैतिक सहयोग गरेको भन्दै सम्मान समेत गरिएको छ। शान्ति पुनर्स्थापना गृहका केन्द्रीय सल्लाहकार युवराज खरेलले गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याललाई सम्मान पत्र प्रदान गर्नु भएको हो। पुनर्स्थापना गृह कोइलाबासमा कर्मचारी अभावको समयमा पालिकाले एउटा कर्मचारी व्यवस्थापन गरी मानव बेचबिखन विरुद्धको अभियानलाई थप सशक्त बनाउन सहयोग गरिरहेको छ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरी दत्त भट्ट, प्रहरी निरीक्षक डबल बहादुर बम, उद्योग वाणिज्य संघ गढवाका अध्यक्ष ओमप्रकाश बसेल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, प्रहरी नायब निरीक्षक हुमलाल बुढाथोकी, राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण योगी, पत्रकारहरू शिवराज पन्थी, दुखहरण यादव, आलोक भावुक, विभिन्न शाखाका प्रमुख र सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रम शान्ति पुनर्स्थापना गृह कोइलाबासकी परामर्शदाता निर्मला गिरीको स्वागत मन्तव्यबाट सुरु भई भूमिराज भट्टराईले सहजीकरण गर्नुभएको थियो।