राप्ती प्रतिष्ठानमा साउनमा २ सय ८३ नि:शुल्क डेलिभरी

दाङ,३१ साउन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा एक सय बढी महिलाले नि:शुल्क प्रसुति सेवा पाएका छन् । प्रतिष्ठानले बैशाख १ गतेदेखी नि:शुल्क प्रसुति सेवा दिन थालेपछि सुत्केरी हुन आउने महिलाको संख्या पछिल्लो महिनाहरुमा अत्यधिक बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले बताए ।

उनले आइसियु, भेन्टीलेटर, वच्चाको लागि एनआइसियु, पिआइसियु सेवासहीत विशेषज्ञ चिकित्सक थपेपछि बिरामिको चाप अस्पतालमा विगतको भन्दा धेरै बढेको बताए । उनले सिमित स्रोत साधनको बाबजुद पनि राम्रा–राम्रा विशेषज्ञ चिकित्सक थप्ने तयारीमा प्रतिष्ठान रहेको जानकारी दिए ।

प्रतिष्ठानमा अहिले मात्रै दैनिक ओपिडिमा विशेषज्ञ चिकित्सकसंग देखाउने बिरामिको संख्या ७ सय बढि रहेको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले आफु नेतृत्वमा आएपछि प्रसुति सेवा नि:शुल्क गर्ने पहिलो निर्णय गर्नु भएको थियो ।

प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराइले अस्पतालमा वितेको ४ महिनामा सामान्य र जटिल गरेर ९ सय बढि महिलाले नि:शुल्क प्रसुति सेवा पाएको जानकारी दिए । जस अनुसार ५ सय ८८ जना महिलाले नर्मल डेलिभरी सेवा र ३ सय ७९ जना महिलाले जटिल प्रकृतीको प्रसुति सेवा पाएको र प्रतिष्ठानमा प्रसुती सेवा नि:शुल्क भएपछि सुत्केरी भएर आउने महिलाको संख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको प्रतिष्ठानका शिक्षाध्यक्ष तथा प्रसुति रोग विशेषज्ञ डा.वसन्त लामीछानेले बताए ।

सुचना अधिकारी भट्टराईका अनुसार गएको बैशाखमा १ सय २८ जना महिलाले नर्मल डेलिभरी, ६८ जना महिलाले जटिल प्रकृतिको प्रसुति सेवा लिएका छन् भने जेठमा १ सय ४० जनाले नर्मल, ९४ जनाले जटिल किसिमको प्रसुति सेवा पाएका छन् ।


त्यसैगरेर असारमा १ सय ५४ जनाले नर्मल, १ सय जनाले जटिल, साउनमा १ सय ६६ जना नर्मल र १ सय १७ जना महिलाले जटिल प्रकृतिको प्रसुति सेवा पाएका छन् । हाल प्रतिष्ठानमा आएका सुत्केरी महिलाहरुको नर्मल डेलिभरी हुन नसकेको अवस्थामा दैनिक ६ देखी १२ जना महिलाको अप्रेसन गरेर वच्चा निकालिदै आएको छ ।