
दीपक बोहरा
दाङ, १६ मंसिर । तुलसीपुर उपमहानगरपालिकाका केही कर्मचारी आफूलाई घटुवा भएको भन्दै आन्दोलित बनेका छन् । आईतबार आफ्नो काम छोडेर आन्दोलनमा उत्रिएका छन् । केही दिन अघि तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाले उनीहरुको पद घटुवा गरेको थियो ।
उपमहानगरपालिकाले घनश्याम पाण्डे नगर प्रमुख हुँदा कार्यविधि बनाएर उपमहानगरपालिका मातहतका कर्मचारीलाई बढुवा गरेको थियो । तर, प्रदेश लोकसेवा आयोगले समन्वय नगरि बढुवा गरेकाे भन्दै बदर गर्न भनेपछि मुद्दा उच्च अदालत तुलसीपुरमा पुगेको थियो । उच्च अदालतले पनि बढुवा कार्यान्वयन नगर्न भनेको थियो ।
पटक–पटक अख्तियारले पनि अदालतले बढुवा कार्यान्वयन नगर्न भनेपछि बढुवा भएबराबरको तलब खुवाएको भन्दै प्रश्न चिन्ह उठाउँदै पत्र पठाउँदै आएको थियो । त्यस्तै महालेखा परिक्षणले पनि उनीहरुले बढुवा भएपछि खाएको तलब बेरुजु देखाएको छ । त्यति भएपछि उपमहानगरपालिकाले साविककै पदमा घटुवा गरेपछि कर्मचारी आन्दोलित बनेका हुन् । उनीहरु आन्दोलित भएपछि आइतबार सेवाग्राहीले पनि सेवा पाउन सकेनन् ।
सेवा प्रभावित भएपछि तुलसीपुर उपमहानगरका नगर प्रमुख टीकाराम खड्काले आन्दोलनरत कर्मचारीलाई काममा फर्कन आग्रह गरेका छन् । उनले एक अपील जारी गद आन्दोलनमा उत्रिएका कर्मचारीलाई आन्दोलन रोकेर काममा फर्कन आग्रह गरेका हुन् ।
तुलसीपुर उपमहानगरपलिको स्थानीय तहका कर्मचारीको तह वृद्धि सम्बन्धी कार्यविधि २०७८ बमोजिम तह वृद्धि भएका स्थानीय तहका कर्मचारी बिभिन्न माग राख्दै आन्दोलनमा उत्रिएपछी उपमहानगरमा काम प्रभावित भएको हो ।
प्रमुख खड्काले उच्च अदालत तुलसीपुरको फैसला, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लुम्बिनि प्रदेश लोकसेवा आयोगको निर्देशन बमोजिम कर्मचारीको तह वृद्धि सम्बन्धी निर्णय गरिएको उल्लेख गर्दै सर्वोच्चमा बिचाराधीन मुद्दामा आगामी दिनमा सर्वोच्चकै आदेश स्थानीय सरकारले कार्यान्वयन् गर्ने स्पष्ट पारे ।
आन्दोलनका कारण जनका काम प्रभावित भएको र दैनिक कार्य सम्पादनमा असजता उत्पन्न भएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै नगर प्रमुुख खड्काले वार्तामा आई न्यायिक निरुपणमा अघि बढ्न आन्दोलनरत कर्मचारीलाई आग्रह गरेका छन् ।




लाइभदाङ । १६ मंसिर २०८१, आईतवार २३:३७ बजे