दाङमा अवैध सालको काठसहित २ जना पक्राउ

दाङ, ११ कात्तिक ।
दाङको देउखुरीमा १४ थान अवैध सालको काठ सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्‍ती गाउँपालीका–१ पाखापानी बस्ने ४३ बर्षीय डिल्लीराज गिरी र गढवा गाउँपालिका–१ कालाकाटे बस्ने ३९ बर्षीय ट्याक्टर चालक विकास घर्ती रहेको प्रहरीले जनाएको छ ।

गत कार्तिक ३ गते बिहान अन्दाजी ८ बजेको समयमा राप्‍ती गाउँपालिका–१ पुल्चोक स्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरी चेकिङ टोलीले कालाकाटे देखी पाखापानी तर्फ जाँदै गरेको रा १ त २१२१ नम्बरको ट्याक्टर रोकी चेकजाँच गर्ने क्रममा अवैध काठ फेला परेपछी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


अन्दाजी ४८ हजार ५ सय ८७ रूपैयाँ बराबरको १४ थान ३८.८७ क्युफिट अवैध सालको चिरान काठ खरिद गरी ल्याउने क्रममा बरामद गरिएको हो । ट्याक्टर र काठ सहित दुवै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन कार्यालय लमही दाङ पठाइएको प्रहरीले जनाएको छ ।