
दीपक बोहरा
दाङ, २ कात्तिक ।
दाङको दंगीशरण गाउँपालिका वडा नं. २ स्थित राजाकोट पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । जहाँबाट दाङको सम्पूर्ण भु–भागसहित सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालहरु देखिन्छ । त्यति मात्रै होइन, बबई नदी, राप्ती नदी, बाँकेको विभिन्न भु–भागको अवलोकन गर्न सकिन्छ ।
त्यस्तै विभिन्न वनजंगलको पनि अवलोकन गर्न सकिने भएकाले त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएको दंगीशरण २ गोल्टाकुरीका प्रकाश डाँगीले बताउनुभयो ।“यो क्षेत्र अवलोकनका हिसाबले रमणीय ठाउँ हो”,उहाँले भन्नुभयो“त्यसैले पनि यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिन्छ ।” त्यहाँ दंगीशरण राजाले औलो लाग्दा बस्ने गरेको ठाउँका रुपमा समेत रहेको स्थानीय चक्रमिलन विश्वकर्माले बताउनुभयो ।
उहाँका अनुसार सोही ठाउँमा पुरानो टेलिकमको टावर पनि छ । जुन पश्चिम नेपालमै चर्चित टावर थियो । गोल्टाकुरीबाट पाँच किलोमिटर पैदल हिडेपछि राजाकोट पुग्न सकिन्छ । नजिकै कुनै बेला हाट बजार जाँदा रुकुम, सल्यान, रोल्पाका नागरिकले प्रयोग गर्ने तिलकन्या नाका पनि भएकाले पनि यो क्षेत्र पर्यटकीय हिसाबले उत्तम रहेको स्थानीय देविराम कुसारीले बताउनुभयो । जहाँ दंगीशरण गाउँपालिका वडा नं.२ स्थित गोल्टाकुरीबाट पैदल ५ किलोमिटर उकालो हिडेपछि पुग्न सकिन्छ ।
त्यसलाई पर्यटकीय क्षेत्रको विकास गर्न सकेमा युवाहरु पनि स्वरोजगार हुने उहाँको भनाई थियो । जहाँ विभिन्न स्थानका आन्तरिक पर्यटकहरुले शनिबार ‘हाइकिङ’ समेत गरेका थिए । गोल्टाकुरीबाट पैदल हिडेर त्यहाँ पुगेका थिए । दुई घण्टामा त्यहाँ पुगिएको थियो । सोही स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नकालागि पहल गर्ने दंगीशरण गाउँपालिकाका प्रबक्ता रमेश भण्डारीले बताउनुभयो ।



लाइभदाङ । ३ कार्तिक २०८२, आईतवार १६:०८ बजे