असोजमै फुल्यो ‘पलम’

तुलसीपुर, ३० असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ छिल्लीकोटमा असोजमै पलमको फुल फुलेको छ । स्थानीय पूर्ण बहादुर पुनको घरमा लगाईएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो ।

विगतमा फागुन÷चैतमा पलम फुल्ने गरेको भएपनि यस बर्ष भने असोजमै फुल्न थालेको भन्दै आफूहरु अच्चमित भएको स्थानीय प्रविर पुनले बताउनुभयो ।“विगतका बर्षमा फागुन÷चैतमा फुल फुल्थ्यो”,उहाँले भन्नुभयो“तर, यस बर्ष असोजमै फुल्न थालेको छ ।” त्यहाँ प्रायः सबै घरमा पलमको बोटहरु छन् । ति मध्ये पूर्ण बहादुरको घरको पलम फल्न थालेको हो । गएको बर्ष पनि छिल्लीकोटमा पुसमै काफल पाकेको थियो ।


यसरी समय भन्दा अगाडी फुल्नु जलवायु परिबर्तनको असर नै रहेको बनस्पति विज्ञ खेमराज शर्माले बताउनुभयो ।“तापक्रम उच्च हुँदा यसरी समय भन्दा अघि फुल्ने हुन्छ”,उहाँले भन्नुभयो“अहिले हरेक बनस्पतिमा यस्तो समस्या देखिएको छ ।” सल्यानमा अदुवाबालीको लागि उत्तम जिल्ला मानिन्थ्यो, तर अहिले सल्यानमा कम फल्ने र रुकुममा बढि फल्ने भइसकेको भन्दै यो सबै जलबायु परिबर्तनको असर रहेको उहाँको भनाई छ ।