
गुल्मी, २८ असोज ।
नख्खु कारागारबाट फरार कैदी गुल्मीबाट पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कारागार कार्यालय नख्खु, ललितपुरमा रहेका गुल्मी धुर्कोट गाउँपालिका–७ थेप्चेका ३६ वर्षीय भरत भन्ने साजन अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए । अर्याल घरमै लुकी बसिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मी अन्तर्गतको प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब् उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए ।
अर्याललाई पक्राउ गर्न प्रहरी सहायक निरीक्षक दीपक शाहको कमाण्डमा खटिएको थियो । पक्राउ परेका अर्याललाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय तम्घास गुल्मीमा पठाइएको जिल्ला प्रहरीले जनाएको छ ।



लाइभदाङ । २८ आश्विन २०८२, मंगलवार १५:३६ बजे