इजरायली अधिकारीले परिवारजनलाई भने– विपिन जोशी जीवित छैनन्

काठमाडौं, २७ असोज ।
इजरायली अधिकारीले परिवारजनलाई सम्पर्क गरेर दुई वर्षअघि हमासको कब्जामा रहेका विपिन जोशी जीवित नभएको जानकारी दिएका छन् । आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमान्डरले अमेरिकामा रहेका आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोनमा जानकारी दिए।

हमास समूहले उनलाई किबुज आलुमिमबाट ०८० असोज २३ मा अपहरण गरेको थियो। उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडयो सार्वजनिक भएको थियो। हमास समूहले आज उसको कब्जामा रहेका २० जनालाई इजरायलसमक्ष हस्तान्तरण गर्दै छ।


राजदूत पण्डितले इजरायलबाट टेलिफोनमा भने– विपिन जोशी जीवित हुनुहुन्न भन्ने दुःखद खबर औपचारिक रूपमा प्राप्त भयो । इजरायली अधिकारीले सुरुमा मलाई जानकारी दिए, त्यसपछि परिवारजनलाई जानकारी दिए । उनको शवबारे पनि यकिन छैन ।