
घोराही १० जेष्ठ।
घोराही उपमहानगरपालिका–३, दाङमा अवस्थित तीन सय शैयाको संजीवनी टिचिङ हस्पिटलले स्थानीय थारु समुदायसँग अस्पताल परिसरमै छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। अस्पतालले स्थानीय समुदायसँग सम्बन्ध विस्तार, अस्पतालका सेवा–सुविधाबारे जानकारी गराउने तथा समुदायका सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा थारु समुदायका अगुवा, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा करिब ५० जना सहभागीहरूले अस्पतालको ओपिडि, विभिन्न उपचार कक्ष, सेवा प्रवाह प्रणाली तथा अन्य विभागहरूको प्रत्यक्ष अवलोकन गरेका थिए। अस्पताल प्रशासनले सहभागीहरूलाई अस्पतालको भौतिक संरचना, उपलब्ध स्वास्थ्य सेवा, विशेषज्ञ चिकित्सकको व्यवस्था तथा आगामी सेवा विस्तार योजनाबारे जानकारी गराएको थियो।
अन्तरक्रिया कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं। ३ का अध्यक्ष राम प्रसाद चौधरी, वडा नं। १७ का अध्यक्ष राम लौटन चौधरी, थारु कल्याणकारिणी सभा दाङका सल्लाहकार तथा कार्यक्रम संयोजक लक्ष्मीमान चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य भुवन चौधरी, आजीवन सदस्य पृथ्वी चौधरी, शिक्षक शेरबहादुर चौधरी लगायतले अस्पताल प्रशासनले स्थानीय समुदायलाई प्रत्यक्ष अस्पताल भ्रमण गराई आफ्ना धारणा राख्ने अवसर दिएकोमा धन्यवाद व्यक्त गरेका थिए। सहभागी थारु अगुवाहरूले आफ्नै घरदैलोमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आउनु समुदायका लागि खुसीको विषय भएको उल्लेख गर्दै अस्पतालले थारु समुदायका युवालाई रोजगारीमा प्राथमिकता दिनुपर्ने तथा उपचार सेवामा केही सहुलियतको व्यवस्था गर्न सके समुदायभित्रका विपन्न वर्ग विशेष रूपमा लाभान्वित हुने धारणा राखेका थिए। उनीहरूले अस्पताल समुदायसँग अझ नजिक भएर सेवा विस्तार गर्नुपर्ने सुझाव पनि दिएका थिए।
कार्यक्रममा मन्तव्य राख्दै संजीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले नेपालको तराई भूभागका प्राचीन भूमिपुत्र थारु समुदायका अगुवाहरू अस्पताल भ्रमणका लागि उपस्थित भएकोमा धन्यवाद व्यक्त गरे। उनले अस्पताल कुनै एक समुदाय विशेषका लागि मात्र नभई सम्पूर्ण नागरिकको स्वास्थ्य सेवाका लागि सञ्चालन गरिएको भए पनि थारु बाहुल्य जिल्ला दाङमा अस्पताल स्थापना भएकाले यसको विकास र उन्नयनमा थारु समुदायले पनि सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रमका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत रोकाले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत देशभरका सूचीकृत सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूबाट हेमोडायलासिस सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था रहेको जानकारी दिए। उनले संजीवनी टिचिङ हस्पिटल पनि सूचीकृत भई उक्त सेवा सञ्चालन गर्ने तयारीमा रहेको बताए। साथै थारु समुदायका अगुवाहरूबाट आएका सुझावहरूलाई अस्पताल व्यवस्थापनले क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा। बाचस्पति सुवेदीले दाङ तथा आसपासका जिल्लाका बिरामीहरूले अब सुविधा सम्पन्न यस अस्पतालबाट विशेषज्ञ स्वास्थ्य सेवा लिन सक्ने उल्लेख गर्दै निकट भविष्यमै न्युरोलोजी, कार्डियोलोजी र युरोलोजी लगायतका सुपर–स्पेसियालिटी सेवा समेत सञ्चालनमा ल्याइने जानकारी दिए। उनले यसबाट उपचारका लागि बाहिरी जिल्ला वा राजधानी धाउनुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरे।अतिथिहरूलाई स्वागत गर्दै लेखा अधिकृत सुनिल चौधरीले अस्पतालमा सेवा लिन आउने क्रममा भाषागत समस्या परेमा आफू लगायत थारु समुदायका कर्मचारीहरूले सहज रूपमा सहजीकरण गर्ने जानकारी दिएका थिए। यसले स्थानीय समुदायलाई अस्पतालसँग थप आत्मीयता महसुस गराउने विश्वास व्यक्त गरिएको थियो। स्थानीय समुदाय र अस्पतालबीच प्रत्यक्ष संवाद, सुझाव आदानप्रदान तथा सेवा–सुविधाको जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रमले स्वास्थ्य संस्था र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत सुशिल रिजालले गरेका थिए।



लाइभदाङ । १० जेष्ठ २०८३, आईतवार १७:१२ बजे