घोराहीमा एमालेको प्रदर्शनः शान्ति पुनर्निर्माणका लागि जागरण कार्यक्रम

दाङ, २६ असोज ।
जेनजी आन्दोलनपछि खलबलिएको शान्ति पुनर्निर्माण र सामाजिक जागरणका लागि नेकपा (एमाले) दाङले आइतबार घोराहीमा प्रदर्शन गरेको छ ।

एमाले दाङका सचिव श्याम डाँगीका अनुसार प्रदर्शन एमालेका २३ वटा जनवर्गीय संगठनले गरेका हुन् । ट्राफिक चोकबाट सुरू भएको प्रदर्शन घोराही बजारका विभिन्न स्थान परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै जनवर्गीय समन्वय संयन्त्रका इन्चार्ज मनोहर बुढाथोकीले एमालेको शक्तिलाई कमजोर नठान्न चेतावनी दिँदै एमालेप्रति प्रतिशोध नसाँध्न सरकारलाई आग्रह गरे ।


राष्ट्रिय युवा संघ दाङका अध्यक्ष विवेक योगीले जेनजीका मागप्रति युवा संघ सकरात्मक भएको भन्दै जेनजीका नाममा हुने अराजकता स्वीकार्य नहुने बताए ।

जेनजी आन्दोलनमा भएका निजी, सार्वजनिक सम्पत्ति तोडफोड,लुटपाट र आगजनीमा संलग्नलाई कार्वाही गर्न माग गर्दै उनले राज्यलाई कार्वाही नगरे युवा संघले कार्वाही गर्ने चेतावनी दिए ।