सल्यानमा दुलही लिएर जाँदै गरेको जीप दुर्घटना हुँदा ११ जना घाइते

सल्यान, २३ असोज ।
सल्यानमा दुलही लगेर जाँदै गरेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहीबार दिउँसो सवा ३ बजे भागाचौरबाट थापाचौरतर्फ जादै गरेको लु.प्र.०२–००१ ज.००२१ नम्बरको जीप शारदा नगरपालिका–९ ज्वालापुरमा जीप दुर्घटना भएको हो ।

दुर्घटनामा दुलाहा चेतराम गिरी र दुलही कमला गिरी सहित ११ जना घाइते भएका छन् ।

अन्य घाइतेहरूमा गुमी कवर, सोभा कवर, हरीकला कवर, प्रविन कवर, रेनुका कवर, हेमराज कवर, कुमारी बुढाथोकी, प्रमिला गिरी, बिमला गिरी र रुपराल गिरी रहेका छन् । सबै घाइते भागाचौर क्षेत्रका बासिन्दा भएको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।


यसैबीच, जीप चालक वनगाड कुपिण्डे नगरपालिका–१२ का करिब २६/२७ वर्षका हरीबहादुर बुढा फरार रहेका छन् । प्रहरीले उनको खोजी कार्य जारी राखेको जानकारी दिएको छ ।

जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।