
देउखुरी,१ चैत ।
लमही नगरपालिका स्तरीय परिक्षा समितीको बैठक सम्पन्न भएको छ । बैठकमा आगामी चैत ८ गतेदेखि कक्षा ८ को नगर स्तरीय परिक्षा हुँदै छ । उक्त परिक्षाका लागि ७ वटा परिक्षा केन्द्र तोकिएको छ । लमही नगरपालिका भित्र संस्थागत र सामुदायिक गरि २८ वटा विद्यालय संचालित छन । यो वर्ष कक्षा ८ को नगर स्तरीय परिक्षामा १ हजार २ सय ९० जना बालबालिका सहभागी हुँदै छन ।
बगार बाबा माध्यमिक विद्यालय रिहार, राप्ती माध्यमिक विद्यालय उच्चानिम्बु, आदर्श नमूना माध्यमिक विद्यालय देउपुर, माध्यमिक विद्यालय फल्कापुर, खीम बहादुर शाह माध्यमिक विद्यालय कोलही, ज्ञानज्योती मोडेल स्कुल लमही र जनता माध्यमिक विद्यालय वनगाउँमा परिक्षा केन्द्र तोकिएको छ ।
त्यसैगरी कक्षा ५ को पनि नगर स्तरीय परिक्षा यहि चैत ८ गतेदेखि हुँदै छ । उक्त परिक्षामा एक हजार २ सय ९४ विद्यार्थी सहभागी हुने भएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशव लम्सालले जानकारी दिनु भयो ।
लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले परीक्षा मर्यादित, व्यवस्थित तथा सभ्य वातावरणमा सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई आवश्यक निर्देशन दिनु भएको छ । उहाँले परीक्षा निष्पक्ष र अनुशासित ढङ्गले सम्पन्न गराउन शिक्षक, कर्मचारी तथा सरोकारवालालाई समन्वयात्मक रूपमा काम गर्न आग्रह गर्नु भएको छ ।
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नगरस्तरीय परीक्षा समितिका संयोजक गेहेन्द्र बहादुर डाँगीले बालबालिकालाई सहज र पायक पर्ने गरी परीक्षा केन्द्र तोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन आवश्यक तयारी अघि बढाइएको छ ।
नगरपालिकाले परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन सम्बन्धित विद्यालय, शिक्षक तथा सरोकारवालासँग समन्वय गरेर काम गरिरहेको जनाएको छ । साथै परीक्षालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सबै पक्षलाई सहयोग गर्न लमही नगरपालिकाले आग्रह गरेको छ ।



लाइभदाङ । १ चैत्र २०८२, आईतवार १८:५४ बजे