दाङमा एक महिनामा करिब १७ सय मात्रै मतदाता थपिए

दाङ, २१ कात्तिक ।
दाङमा एक महिनामा एक हजार सातसय मात्रै मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुरु भएको नयाँ मतदाता नामावली दर्ता र अद्यावधिक गरिरहेको छ । जस अन्तर्गत दाङमा गत असोज १२ गतेदेखि विहीबारसम्म एक हजार ६ सय ८० जना नयाँ मतदाता थपिएका हुन् ।

यो संख्या निकै न्यून रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिनुभयो । “यो निकै न्यून हो, अहिले जिल्लाबाट मात्रै मतदाता नामावली दर्ताको काम भइरहेको छ”,उहाँले भन्नुभयो“त्यसले गर्दा पनि संख्या निकै कम भएको हो ।”जसमा ५९४ जना महिला र १०८६ जना पुरुषले मतदाता नामावली दर्ता गरेका हुन् । दर्ता गराउनेहरुमा १६ देखि २५ बर्ष उमेरका धेरै छन् ।

यसअघि २०७९ सालमा भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहको निर्वाचनको तयारीका बेला दैनिक कम्तिमा पनि पाँचसय भन्दा माथिसम्म नागरिकले नामावली दर्ता गराउने गरेको भएपनि यस पटक भने एक महनिामा दुई हजार पनि नपुगेको उहाँको भनाई छ ।


जिल्ला प्रशासनमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने भिड भएपनि मतदाता बनाउनेमा भने खासै चासो नदिएको उहाँको भनाई छ । राजनीतिक दलहरू पनि यस पटक मतदाता दर्ता अभियानमा सक्रिय नभएका कारण दर्ता हुनेको संख्या कम देखिएको उहाँले बताउनुभयो । कात्तिक ३० गतेसम्म नामावली दर्ता र अद्यावधिक गर्ने मिति तय भएको छ ।

दाङमा हाल तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । अहिले कुल मतदाता संख्या ४ लाख १६ हजार ३५ पुगेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । तीमध्ये २ लाख ११ हजार ७१६ महिला, २ लाख ५ हजार १७ पुरुष र अन्य २ जना मतदाता रहेका छन् ।