
तुलसीपुर, २३ असोज ।
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व–उपकुलपति डा। संगीता भण्डारीसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
एमआरआई मेशिन खरिदमा घोटाला गरेको आरोपमा भण्डारीसहित १३ जना बिरुद्ध १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रिय प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । एमआरआई मेसिन खरिदको लागि Supply, Delivery and Installation of Magnetic Resonnance Imaging (MRI) System (IFB No: RAHS/NCB/HE/15/077/078) मार्फत बोलपत्र आह्वान गरेकोमा उक्त MRI मेसिन खरिद गर्न प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रतिकुल हुने गरी बदनियत राखी खरिद आवश्यकताको पहिचान एंव खरिद गुरुयोजना नै नबनाई बजेट माग गरी गराई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरे गराएको देखिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आरोपीहरुले पहिले नै स्वीकृत भईसकेको प्राविधिक स्पेसिफिकेशन कानूनले निर्धारण गरेको शर्त र अवस्था विना नै संशोधन गरेको समेत पाइएको छ । भण्डारी हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छिन् ।
यसरी भ्रष्टाचार मुद्धा दायर हुनेमा तत्कालिन उपकुलपती भण्डारीसहित तत्कालिन रजिष्टार झन्कार लामिछाने, तत्कालिन फाइनान्स मेनेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँका बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरी, प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, प्रतिष्ठानकी शाखा अधिकृतद्धय छाँया डिसी, श्रीराम चौधरी, आइटी अफिसर हिरालाल भण्डारी, तत्कालिन शिभिल इन्जिनियर मदन भण्डारी, तत्कालिन वरिष्ठ सहायक अञ्जु शर्मा, तत्कालिन बायोमेडिकल सुजता भट्राई र लुम्बिनी हेल्थ केयर प्रालिका अध्यक्ष राज ज्ञवाली रहेका छन् । उनीहरु बिरुद्ध प्रतिव्यक्ती ९ देखी साढे १२ करोडसम्म बिगो माग दाबी गरिएको छ ।



लाइभदाङ । २३ आश्विन २०८२, बिहीबार १६:१६ बजे