व्यवसायी समूहद्वारा तुलसीपुर मालपोत कार्यालयलाई सहयोग

टेकराज भण्डारी
दाङ, १० असोज ।
जेन्जी आन्दोलनका क्रममा तुलसीपुर मालपोत कार्यालयमा भएको तोडफोड र आगजनीले गर्दा कार्यालय सञ्चालन ठप्प भएको थियो। छिटो सेवा पुनः सुरु गर्न र प्रशासनिक कामकाज सुचारु गर्न दाङका व्यवसायीहरूले महत्वपूर्ण सहयोग प्रदान गरेका छन्।

दाङ जग्गा तथा आवास विकास सङ्घका जिल्ला वरिष्ठ उपाध्यक्ष दुर्गा खड्का, सल्लाहकार होमप्रकाश गौतम, जय घर्ती, निर्मल बस्नेत, डिल्ली केसी, मनबहादुर सिंह, प्रेम ओलीलगायतको व्यवसायी टिमले तुलसीपुर मालपोत कार्यालयलाई अति आवश्यक सामग्री हस्तान्तरण गरेका हुन्।

उक्त सहयोगमार्फत करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको कम्प्युटर, प्रिन्टर, कुर्सी, दराज, टेबुललगायतका सामग्री उपलब्ध गराइएको छ। यसले कार्यालयको पुनः सञ्चालन छिटो सुरु गर्न र नागरिकलाई तत्काल सेवा उपलब्ध गराउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।


व्यवसायी टिमका प्रतिनिधिहरूले भने, “हाम्रो उद्देश्य दाङका नागरिकले सुचारु सेवा पाउन सकून् भन्ने हो। प्रशासन र समाजबीचको सहकार्यको उदाहरण प्रस्तुत गर्दै हामीले यो सहयोग गरेका हौं।”

तुलसीपुर मालपोत कार्यालयका प्रमुख खिमबहादुर खड्काले पनि सहयोगप्रति आभार व्यक्त गर्दै भने, “व्यवसायी साथीहरूको सहयोगले कार्यालयको सुचारु कामकाज छिटो सुरु गर्न मद्दत पुर्‍याएको छ। यसले दाङको प्रशासनिक सेवा प्रवाह र स्थानीय विकासमा ठूलो योगदान पुर्‍याउनेछ।”