दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाई

तुलसीपुर, १४ जेठ ।
दाङको राप्ती गाउँपालिका वडा नं. ४ स्थित रात्री प्रावि मौरीघाट गाउँको बीचमा छ । तर, पनि विद्यार्थीको अबस्था न्यून छ । गाउँ ठूलो भएपनि ब्यबस्थापन नहुँदा विद्यार्थीको आकर्षण रहदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको छ ।

कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा हाल २१ जना मात्रै विद्यार्थी छन् । शिशु कक्षामा एक जना पनि विद्यार्थी छैनन्, भने कक्षा १ मा ६ जना, कक्षा २, ३ र ४ मा ३/३ जना र कक्षा ५ मा ६ जना विद्यार्थी छन् । ति मध्ये विद्यालयमा केही मात्रै आउछन् । सबै विद्यार्थी विद्यालय आउने गरेका छैनन् । त्यसैले पनि उनीहरुलाई दुई तहका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनु पर्ने बाध्यता रहेको प्रधानाध्यापक बुद्धिमान चौधरीले बताउनुभयो ।


कहिल्यै कक्षा १ र २ लाई संगै राखेर पढाउनु पर्ने र कहिल्यै २ र ३ लाई संगै राखेर पढाउनु पर्ने अबस्था रहेको उहाँको भनाई छ ।“विद्यार्थी थोरै छन्, कहिल्यै १ र २ तथा कहिल्यै २ र ३ लाई एउटै कक्षामा राखेर पढाउने गरेका छौं”,उहाँले भन्नुभयो“यसले गर्दा विद्यार्थीहरु पढाईमा अन्यौलमा पर्ने गर्छन् ।”

गएको बर्ष ४५ जना विद्यार्थी रहेपनि यस बर्ष विद्यार्थीको संख्या ह्वातै घटेको उहाँको भनाई छ । नजिकै बोर्डिङ स्कुल खुलेकाले पनि सबै विद्यार्थी उतै गएको प्रअ चौधरीले बताउनुभयो । सोही विद्यालयमा तीन जना शिक्षक कार्यरत हुनुहुन्छ । नयाँ पुस्ताले विद्यालयको नेतृत्व हाँकेमा सामुदायिक विद्यालयको अबस्था सुधार हुन सक्ने प्रअ चौधरीले अनुभव सुनाउनुभयो ।“हामी बुढो भइसक्यौं, मलाई अन्त सरुवा गरे हुन्थ्यो”,उहाँले भन्नुभयो“विद्यालयको नेतृत्व युवाले गर्नुपर्छ, अनि मात्रै सुधार हुन्छ ।” साभारः अग्रिम साप्ताहिक