
दाङ, ९ असोज । दाङको लमही नगरपालिका–३ श्रीगाउँमा भएको दुर्घटनामा गम्भीर घाइते भएका टुन्टुन चौधरीको मृत्यु भएको छ ।
भदौ ३१ गते बिहान लु ४५ प ९६२९ नम्बरको मोटरसाइकललाई लमही-३ मझगाउँ बस्ने ३५ वर्षीय बिनास चौधरीले चलाइरहेका बेला पैदल यात्रुले धकेल्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । सो क्रममा मोटरसाइकलको पछाडि सवार लमही-३ श्रीगाउँका ४५ वर्षीय टुन्टुन चौधरी गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा संलग्न पैदल यात्रु लमही–३ श्रीगाउँकै ३० वर्षीय बसन्त चौधरी मदिरा सेवन गरेको अवस्थामा रहेका थिए । दुर्घटनामा टुन्टुन चौधरीको टाउको, हात, खुट्टा र छातीमा गम्भीर चोट लागेको थियो ।
प्रारम्भिक उपचारपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भर्ना गरिएका चौधरीको उपचारकै क्रममा असोज ९ गते बिहान ५ बजे मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
मोटरसाइकल, चालक र पैदल यात्रु हाल प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । ९ आश्विन २०८२, बिहीबार ११:५३ बजे